फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैन : प्रधान सेनापति शर्मा (भिडिओ) – Nepal Press

फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैन : प्रधान सेनापति शर्मा (भिडिओ)

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं-तराई/मधेश द्रूतमार्गको लागत हालसम्म नबढेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौं-तराई/मधेश द्रूतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन् ।

उनले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताए । उनले फास्ट ट्र्याक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताए ।

उनले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनैपनि लागत नबढेको बताए । उनले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताए ।

प्रधान सेनापति शर्माले काठमाडौं-तराई/मधेश द्रूतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । उनले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिए ।

यस्तो छ उनको भनाइः

नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । मलाई केही छैन । नेपालमा हजुर, हामी दाजुभाई नै हौँ । केही लाज लाग्दैन । सक्ने, नसक्ने भन्नमा । सकिन्छ । तर एकदम सिँगारेर, फास्ट ट्रयाक भनेर युरोपको सडकजस्तो नगरेपनि हजुरहरुलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्याउन पाएँ भने हजुरहरुले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको ।

त्यसै भएर पुल र टनेललाई विशेष महत्व दिएको हो । अन्य खन्ने बाटो त राती पनि खनेर सकिदिउँला । केही फरक पर्दैन । प्राविधिक रुपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ । त्यसमा जोड दिइएको कारण यहीँ हो । अहिलेसम्म बजेट भित्रै काम गर्न हामी सफल भएका छौँ । अहिलेसम्म बजेट भित्रै छौँ । त्यो पनि कट्दैन ।

पाँच वर्ष अगाडीको योजनामा अहिलेसम्म ठेक्का लाग्दाखेरी पनि हामीले कसरी मिलायौँ होला ? त्यो कुरा विचार गर्नुपर्छ । यो यस्तो योजनामा कहिल्यै पनि हुँदैन । बढ्दै गएको भनिन्छ । बढेको छैन । कहाँ बढ्नु ? त्यो बेलाको योजना अनुरुपको बजेटभित्रै छौँ हामी । अझ बाँकी छ पैसा । त्यसो भएको हुनाले हामीसँग कन्फिडेन्स् छ भन्न खोजेको । लागत बढेको छैन ।

कुनैपनि पैसा बढेको छैन । समय पनि तोकेको समयभित्रै छौँ । ठूलो आयोजनाको कामको समय कुलो बनाएको जस्तो, एउटा पुल बनाएको जस्तो हुँदैन । त्यसले अलिकति समय लिन्छ । हामी समयभित्र पनि छौँ । बजेटभित्र पनि छौँ । काम पनि भइराखेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *