एमालेनिकट उद्योग तथा व्यवसायी महासंघको नेतृत्व पुनर्गठन, को को बने पदाधिकारी ? – Nepal Press

एमालेनिकट उद्योग तथा व्यवसायी महासंघको नेतृत्व पुनर्गठन, को को बने पदाधिकारी ?

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृ संगठनको रूपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगीरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए ।

अध्यक्षमा सापकोटाको साथ महासचिवमा बालकृष्ण सिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् । सिवाकोटी मेगा बैंकका पूर्व सञ्चालक एवं कालिन्चोक केबलकारका अध्यक्ष हुन भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक हुन ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आबद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको सो महासंघमा विभिन्न ११ वटा वस्तुगत संघहरुमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरु सदस्य रहेका छन् ।

यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिवेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रूपमा रूपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ ।

नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर