बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीमाथि कारबाही गर्न मन्त्रालयको निर्देशन – Nepal Press

बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीमाथि कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सक तथा कर्मचारीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई परिपत्र गर्दै त्यसरी काम गर्नु कानून विपरीत भएको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने भन्दै सचेतनामूलक निर्देशन दिएको हो ।

मन्त्रालयका जनसंख्या तथा प्रशासन सचिव मधुसूदन बुर्लाकोटीले गरेको परिपत्रमा भनिएको छ, ‘यस मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा विभाग लगायतका निकायमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको देखिने तर निजलाई कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने एवं सेवाग्राहीले सेवा लिन गएको समयमा पनि सम्बन्धित कर्मचारीलाई फेला पार्न नसकी सेवाग्राहीले पाउनुपर्ने सेवा पाउन नसकेको भनी गुनासो प्राप्त हुनुका साथै यदाकदा पत्र–पत्रिकामा फोटोसहित समाचार प्रकाशन भएको देखिएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा अनुपस्थित हुनु कानून विपरीत भएको भन्दै सबै सबैलाई कानून पालना गर्न निर्देशन दिएको छ ।

परिपत्रमा थप भनिएको छ, ‘यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा गैह्र उपस्थिति रहनु, प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी संयमित भएर आ–आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्न हुन निर्देशन दिइएको छ ।’

मन्त्रालयले भविष्यमा कसैको पनि यस्ता प्रकारका गतिविधिमा संलग्नता भएको पाइएमा कानून बमोजिम कारबाही गरिने र त्यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार रहन सचेत पनि गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *