ओमप्रकाश गुरुङ थुनामा, दीपेशसहित ६ जनालाई ४० लाख धरौटी छाड्न आदेश – Nepal Press
सुप्रिम सहकारी प्रकरण

ओमप्रकाश गुरुङ थुनामा, दीपेशसहित ६ जनालाई ४० लाख धरौटी छाड्न आदेश

फरार २० जनालाई प्रतिवादी म्याद जारी

रुपन्देही । बचतकर्ताको १ अर्ब रकम अपचलन भएको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूमध्ये ओमप्रकाश गुरुङलाई मात्रै थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको थुनछेक आदेश आएको छ ।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये २८ जनामध्ये पक्राउ परेका ७ जनाबाट गुरुङलाई मात्रै थुनामा पठाउने र अन्यलाई धरौटीमा छाड्ने आदेश शुक्रवार दिउसो आएको हो ।

१ नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश आएको हो । उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ ।

आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो ।

प्रतिवादीमध्ये कास्की कारागारमा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिने सूचना अधिकारी मरासिनीले जानकारी दिए ।

दीपेशकुमार पुनको तर्फबाट शिवप्रसाद गौडेल, रोशनी गुरुङको तर्फबाट अभिवक्ता कृष्णप्रसाद पोखरेल, निता थापाको तर्फबाट खेमबहादुर पुन, लालबहादुर बस्नेत, हेमराज शर्माले बहस गरेका थिए भने दुर्गा चापागाईँ पाण्डेको तर्फबाट शिव गौडेल, बाबुराम पाण्डे, जोखबहादुर खत्री तथा नवीन अछामीको तर्फबाट होमराज पन्त, दीपक न्यौपाने, जोखबहादुर खत्रीले बहस गरेका थिए ।

सहकारीका पीडितहरूले करिब १ अर्ब बचत अपचलन गरिएको भन्दै सुप्रिम सहकारी पीडित संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् ।

पीडितहरूले दुई दिनअघि बुटवलमा प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीवी राईसहितका प्रतिवादीलाई पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेका छन् ।

संघर्ष समितिका संयोजक विजयकुमार नेपालले आफूहरूले न्याय नपाएसम्म संघर्षलाई निरन्तरता दिने बताउँदै माग पूरा नभए काठमाडौँ गएर संसद घेराउ गर्नेसमेत चेतावनी दिएका छन् ।

प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानमा सहकारीका संस्थापक जीवी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईँ पाण्डे, भविश्वर अर्यालसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिल कार्यालयलाई राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सोही अनुसार सोमबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा २८ जनाबाट ९८ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले बुझाएको प्रतिवेदनमा निता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धिरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राज भण्डारीलाई प्रतिवादी बनाउन सुझाव दिएको थियो।

अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन्। प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *