सांसद बडूको प्रश्न- जिल्ला सदरमुकाम आउन ब्यासका जनताले कहिलेसम्म भारतको बाटो हिँड्नुपर्छ ? – Nepal Press

सांसद बडूको प्रश्न- जिल्ला सदरमुकाम आउन ब्यासका जनताले कहिलेसम्म भारतको बाटो हिँड्नुपर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले नेपाली सेनाले गरिरहेको दार्चुलाको तिंकर सडक निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सीमा क्षेत्रका जनताले आफ्नो जिल्ला सदरमुकाम आउन कहिलेसम्म भारतको बाटो हिँड्नुपर्ने भन्दै प्रश्न गरे ।

उनले भने, ‘दार्चुलाको तिंकर सडक सीमासँग जोडिएको करिडोर हो यो । अन्तर्राष्ट्रिय सीमासँग जोडिएको करिडोर हो । हाम्रो मुलुकको कालापानी क्षेत्रसँग जोडिएको भूमि पनि हो । त्यो भूमिका हामीले राष्ट्रिय महत्वका साथ यो सडकलाई छिटो बनाउनुपर्छ भन्ने एउटा उद्देश्य हो । त्यही भएर क्याबिनेटले निर्णय गरेर दिएको हो । यसमा युद्धस्तरमा काम गरौं भन्ने दोस्रो उद्देश्य हो ।’

काम नभएर बजेटसमेत खेर जाने अवस्थाको अन्त्य गर्न सरकारले सेनालाई काम दिएको भए पनि अपेक्षाअनुसार गतिमा अघि बढ्न नसकेको उनको भनाइ थियो ।

सांसद बडूले थपे, ‘कालापानी क्षेत्र राष्ट्रिय महत्वले पनि महत्वपूर्ण ठाउँ हो । त्यहाँ हाम्रो ब्यास भेरीको दुइटा गाउँ, पहिला एउटा गाउँपालिका नै थियो । त्यहाँ हिउँ पर्दा सदरमुकाम आउँछन्, अब गर्मी लागेपछि त्यही बस्न जान्छन्, दुई गाउँका झण्डै दुई सय परिवार छन्, तिनीहरुले त्यो ठाउँबाट आफ्नो जिल्ला सदरमुकाम आउन पहिला गोरेटो बाटो थियो, त्यहाँ हामीले सडक सुरु गरेका छौं । भारतले पनि महाकाली किनारमा सडक सुरु गरेर अन्तिम चरणमा पुर्‍याइसकेको छ । उनीहरुले सडक निर्माण गर्दा हामीले हिँड्ने गोरेटो क्षतिग्रस्त भयो, हामीले बनाउँदा पनि त्यो बाटो काम लागेन । सडक बनाउन कति समय लाग्छ भन्ने तार्गेट भएको छैन । त्यसैले विगतका ४ वर्ष काम सन्तोषजक ढंगबाट अघि बढेको छैन । यही गतिमा जाने हो भने अझै ४० वर्ष लाग्छ । यो सडक र त्यहाँको जनताले अब भारतको बाटो नगइ नहुने भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर