शंकाले जल्यो प्रियंकाका आमा-छोरीको ‘लंका’– श्रीमान प्रहरी सम्पर्कमा, कथित प्रेमी फरार – Nepal Press

शंकाले जल्यो प्रियंकाका आमा-छोरीको ‘लंका’– श्रीमान प्रहरी सम्पर्कमा, कथित प्रेमी फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका -१६ स्थित पोखरीको डिलमा जलिरहेको अवस्थामा फेला परेकी महिला र बालिका आमा–छोरी भएको पुष्टि भएको छ ।

बुधवार राति करिब ९ बजे जलिरहेको अवस्थामा महोत्तरीको मनरासिस्वा नगरपालिका २ की २५ वर्षीया प्रियंका महतो र उनीसँगै एक बालिका फेला परेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा प्रियंकाको मृत्यु भइसकेको थियो ।

जलेकी महिलाकै छेउमा करिब ९ महिनाकी बालिका पनि जलेको अवस्थामा छटपटाई रहेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरी उपचारका प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

बिहिवार मृतक महिलाकी श्रीमान सुमित महतो प्रहरीको सम्पर्कमा आएपछि मृतक महिला र बालिका ‘आमा—छोरी’रहेको खुलेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

घटनाबारे डिएसपी अवाले भने, ‘महिलाले आफैँ आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । तर निष्कर्षमा पुगिसकेको छैन् । अनुसन्धान जारी छ ।’

प्रियंका छोरी लिएर वैशाख १ गते माइत महोत्तरीको पिपरा गाउँपालिका १ ढेकहा गएकी थिइन् । उनी बुधवार मध्यान्ह छोरीसहित सम्पर्कविहिन भएकी थिइन्।

आमाबुवाले उनलाई खोज्न थाले । तर फेला परिनन् । सोही राति उनी जनकपुरधाममा जलिरहेको अवस्थामा छोरीसँगै मृत भेटिन् । राति करिब ११ बजे नै उनको बुवालाई जिल्ला प्रहरी कार्यालयबाट घटनाबारे जानकारी गराइएको थियो ।

माइत गाउँकै छिमेकी रामसागर महतोसँग प्रियंकाको अवैध सम्बन्ध रहेको कुरा खुलेको छ । प्रियंकाका आमाबुवाले पनि रामसागरले नै छोरीलाई बेपत्ता पारेको र जनकपुर लगेर मारेको आरोप लगाएका छन् ।

प्रियंकाले माइतकै केटासँग अबैध सम्बन्ध राखेको संकेत उनका श्रीमान अमितले पनि गरेका छन् । उनी भन्छन्, ‘आफूसँग रहेको बेला पनि उनी अन्य व्यक्तिसँग फोनमा कुरा गर्थिन् । मैले सोधेपछि कहिले आमा त कहिले बुवासँग कुरा गरिरहेको भनेर झुठ बोल्थिन् । मलाई शंका लागिरहेको थियो ।’

डिएसपी अवालेले मृतक प्रियंकाले माइतका एक व्यक्तिबीच अबैध सम्बन्धको कुरा आएको र यस विषयमा अनुसन्धान गरिरहेका बताए । उनले भने, ‘सम्बन्ध रहदैमा हत्या गर्छन् भन्न पनि सकिदैन । यो विषयमा पनि अनुसन्धान गरिरहेका छौं ।’

प्रियंकाले अवैध सम्बन्ध राखेको भनिएका रामसागर घटना भएको दिनदेखि फरार छन् । त्यसैले पनि उनी अनुसन्धानको घेरामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *