बैशाख ७-जितगढी विजयउत्सव – Nepal Press

बैशाख ७-जितगढी विजयउत्सव

यस्तो छ नेपालले अंग्रेजलाई हराएको इतिहास

रुपन्देही । १८७२ मा नेपाली सेनाले अंग्रेज सेनालाई हराएको दिन हो वैशाख ७ गते । यो दिन बुटवलको जितगढीमा पराजित गरेको ऐतिहासिक दिन हो । १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा विभिन्न स्थानमा युद्ध भएको थियो ।

अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भएको थियो ।

बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि १८७२ साल वैशाख ७ गतेको दिनमा जित हासिल गरेको थियो । नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुसीयालीमा शुक्रबार जितगढी उत्सव गरिँदै छ ।

जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ । जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको शालिक निर्माण गरिएको छ ।

उक्त लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए । बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढीमा तीन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको थियो ।

नेपालले यसरी जित्यो अंग्रेजलाई

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो । जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे ।

आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे ।

बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकार विमलबहादुर शाक्य बताउँछन् ।

जनरल ऊडकै नेतृत्वमा दुई पटक भएको आक्रमणमा बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरी विजय प्राप्त गरेको थियो । शाक्यका अनुसार आधुनिक हतियारमा आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहन गएको थियो ।

अंग्रेजतर्फ ठूलो क्षति भयो । इतिहासका जानकारहरुका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा वि.सं. १८७२ मा विजय हासिल गरी विजय पताका फहराएका थिए । जितगढीको युद्धको झझल्को दिनेगरी नेपाली सेनाले वृत्तचित्र बनाएको छ ।

पाल्पा भगवती जात्रासँगको साइनो

पाल्पाको तानसेनमा भगवती जात्रा हुन्छ । भनिन्छ, बुटवलमा अंग्रेजसँगको युद्ध जितेर गएपछि उजिरसिंहले पाल्पामा विजय उत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि अहिलेसम्म पनि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ ।

रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा निकाल्न थालेको २ सय वर्ष भएको छ । भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तिन पटक मन्दिर घुमाइन्छ ।

रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ । त्यसपछि व्यवस्थापन समिति, नेपाली सेना, प्रहरी प्रशासनबाट पूजा गर्ने गरिन्छ ।

यस्तो छ गढी

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ ।

करिब बाह्र लाखदेखि पन्ध्र लाख इँटा प्रयोग भएका र ईटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही इँँटाहरुको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ ।

नेपाली सेनाको पदयात्रा

गतवर्षदेखि नेपाली सेनाले गोरखादेखि जितगढीसम्मको पदयात्रा संचालन गर्न थालेको छ । पुरानो बाटोबाट गोरखाबाट हिंडेको सेनाको पैदलयात्री ७ गते बुटवल आउने गर्दछन् । जितगढी गतवर्ष नेपाली सेनाले पुनःसंरचना गरेर बुटवल उपमहानगरपालिकालाई बुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *