रवि लामिछानेलाई भेटेर पुण्य गौतमले भने- ८४ मा गगनविरुद्ध चुनाव लड्दै छु, सघाउनुपर्‍यो – Nepal Press

रवि लामिछानेलाई भेटेर पुण्य गौतमले भने- ८४ मा गगनविरुद्ध चुनाव लड्दै छु, सघाउनुपर्‍यो

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित अभियन्ता पुण्य गौतम हिजो राति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मन्त्री क्वाटरमा छिरे । नजिकका आफन्तसमेत रहेका रविसँग उनले करिब एक घण्टा मनको भारी बिसाएर फर्किएका थिए ।

विगतमा रविको आलोचना गरेर नथाक्ने पुण्य पछिल्लो समय उनीप्रति ‘सफ्ट कर्नर’ राख्न थालेका छन् । पुण्यका अनुसार रवि उनको आमाको मामाका छोरा पनि हुन् । हिजोको भेटघाट पनि पारिवारिक माहौलमा भएको उनले बताए ।

भेटमा पुण्यले आफू ८४ सालको चुनाव लड्ने योजनामा रहेको रविलाई सुनाएका थिए । उनले काठमाडौं ४ मा गगन थापाविरुद्ध आफूले उम्मेदवारी दिने भन्दै रविसँग सहयोगको आग्रह गरे । रविले यसमा सकारात्मक जवाफ दिएको पुण्य बताउँछन् ।

रविको भनाइ उद्धृत गर्दै पुण्यले भने, ‘तपाईँ योग्य मान्छे हो, तर अहिलेसम्म कतै पनि अवसर पाउनुभएको छैन । यदि चुनावमा उठ्नुभयो भने हाम्रोतर्फबाट सहयोग हुन्छ ।’

पुण्य गौतम अहिले एमालेमा छन् । काठमाडौंमा आयोजित आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्दै उनी पार्टी प्रवेश गरेका थिए । तर, एमालेले आफूलाई कुनै पनि भूमिका र जिम्मेवारी नदिएकोमा उनी असन्तुष्ट छन् ।

अघिल्लो चुनावमा उनले काठमाडौंबाट प्रदेश सभामा टिकटका लागि निकै लबिङ गरेका थिए । तर, सफल भएनन् । अर्को चुनावमा सकेसम्म एमालेबाटै टिकटका लागि प्रयास गर्ने नत्र स्वतन्त्र भए पनि गगनविरुद्ध उठ्ने पुण्यको योजना छ ।

पुण्यको बसोबास भने काठमाडौं ३ मा छ । यो काठमाडौं ४ सँग जोडिएको क्षेत्र भएकाले आफूलाई स्थानीय उम्मेदवार नै हुने तर्क गर्छन्, पुण्य । गगनलाई हराएर देखाउने पनि उनको दाबी छ ।

पछिल्लो समय गगन र रवि लामिछानेबीच शत्रुता बढ्दो छ ।

गगनले सहकारी विवादमा जोड्दै निरन्तर रविविरुद्ध प्रहार गरिरहेका छन् । पुण्य गौतमसँगको भेटमा रविले गगनको प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका थिए । साथै, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीप्रति पनि उनी रुष्ट रहेको गौतमको भनाइ छ ।

गौतमले शाहीले निर्वाचन आयोगमा एम ए पास गरेको भनेर झूटो विवरण पठाएको भन्दै यसमा एक्सन लिन रविलाई उनले सुझाव दिएका थिए । रविले यदि यस्तो हो भने गम्भीर रूपमा लिइने बताए ।

रविले पुण्यको अध्ययनशीलता र पार्टीप्रतिको निष्ठाको प्रशंसा गरेका थिए ।

‘तपाईँ निस्वार्थ मान्छे हो, तपाईँले गरिब दुखीको पनि सेवा गर्नुभएको छ । तर तपाईँ जे होइन, त्यो रूपमा प्रचार भइरहेको छ । तपाईँको रिब्राण्डिङ हुनुपर्छ,’ रविले भने ।

पुण्यका अनुसार रविले भेटमा केपी ओलीलाई देशभक्त नेता र प्रचण्डलाई गतिशील नेता भनेर तारिफ गरेका थिए । पुण्य गौतम उपचुनावमा एमाले उम्मेदवार सुहाङ नेम्वाङको प्रचारप्रसारका लागि इलाम जाने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर