बिहेमा रमाएकी एलिना बिदाइमा भावविव्हल (तस्बिरहरू) – Nepal Press

बिहेमा रमाएकी एलिना बिदाइमा भावविव्हल (तस्बिरहरू)

विवाहको रमाइलो : बेहुलालाई कुचो उपहार, सालीहरूले जुत्ता चोरेर लगे नगद २५ हजार

काठमाडौं । लाखौँ युवाहरूले मनमा सजाएकी गायिका एलिना चौहान हिजोबाट स्थायी रूपमा कसैकी भएकी छन् ।बागलुङ निवासी विष्णु सापकोटासँग लगनगाँठो कस्दै उनी ‘विवाहित क्लब’मा प्रवेश गरिन् ।

बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा एलिना र विष्णुको धूमधामले विवाह भयो । उनीहरूले सबै परम्परागत विधिहरू पूरा गरेर लगनगाँठो कसे । बेहुली पहिरनमा एलिना निकै खुलेकी थिइन् । यद्यपि, बिर्तामोडको गर्मीले उनलाई सकस भने परेको थियो ।

एलिनालाई सिन्दूर हाल्न विष्णुले बागलुङबाटै जन्ती लिएर गएका थिए । बिहेको अघिल्लो राति अचानक दुलाहा घरमै टुपुल्किएपछि एलिना दंग परेकी थिइन् । मेहेन्दी समारोह निकै रौनकमय भएको थियो ।

भोलिपल्ट विवाह पनि रमाइलो भयो । वैवाहिक समारोहमा एलिनाका परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ थिए । कलाकारहरू धेरै थिएनन् । गायिकाहरू रचना रिमाल, एन्जिला रेग्मी, मेलिना मैनाली लगायतले एलिनाको विवाहमा गएर उनलाई साथ दिए ।

दिनभरि नै विवाहको रमाइलो माहोल थियो । गायक विजय पुनले बेहुला–बेहुलीलाई दिएको गिफ्ट चर्चाको विषय बन्यो । उनले बेहुलालाई कुचो र बेहुलीलाई बेल्ना–चौका उपहार दिएका थिए । विवाहमा सालीहरूले जुत्ता चोरेपछि विष्णुले मोटो रकम (नगद २५ हजार रुपैयाँ) तिर्नुपरेको थियो ।

बिदाइको क्षण भने भावुक बन्यो । जतिसुकै माया गरेको मान्छेसँग बिहे गरे पनि आफ्नो जन्मे हुर्केको परिवारबाट बिदा हुँदा मन त कहाँ मान्छ र । एलिना पनि परिवारजनसँग छुट्टिँदा निकै भावविव्हल बनिन् । उनी रोएपछि अरूले पनि आँशु थाम्न सकेनन् । गायिका रचना रिमालको आँखामा पनि आँशु छचल्किएको थियो ।

एलिना बुबाआमाकी जेठी छोरी हुन् । उनका एक भाइ, दुई बहिनी छन् । पहिलोपटक छोरी बिदा गर्दा बुबाआमा पनि भावुक बनेका थिए ।

एलिनालाई विष्णुले टाँगामा राखेर लिएर हिँडे । उनलाई बाग्लुङमै लगेर विधिपूर्वक भित्र्याइँदै छ । विष्णु अष्ट्रेलियामा बस्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *