रुरुमा शालिग्राम महोत्सवको तयारी, वैशाख ७ गतेदेखि धार्मिक मार्ग यात्रा हुने – Nepal Press

रुरुमा शालिग्राम महोत्सवको तयारी, वैशाख ७ गतेदेखि धार्मिक मार्ग यात्रा हुने

रुपन्देही । शालिग्राम महोत्सव वर्ष २०८१ अन्तर्गत यही वैशाख ७ गते धार्मिक मार्ग यात्रा सुरु हुने भएको छ । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनामा सिमानाका सुनौलीबाट यात्रा सुरु हुने भएको हो ।

धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्र पुगेर शालिग्राम महोत्सवको घडा स्थापना हुने छ ।

रुरु क्षेत्र अर्थात् रिडीमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधिबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने प्रतिष्ठानकी अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।

यात्रासँगै शालिग्राम महोत्सव वर्ष वैशाख ७ देखि नै सुरु हुने उनले जानकारी दिइन् । धार्मिक मार्ग यात्रा अन्तर्गत ८ गते मुक्तिनाथको लागि प्रस्थान गरिने उनले बताइन् । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गरिने छ । यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी,पत्रकारहरू सहभागी हुनेछन् ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दूधर्मावलम्बीले पुज्ने गर्दछन् । शालिग्राम शिलाको महत्वको बारेमा अन्तर्राष्ट्रिय रूपमा प्रचार र प्रवर्द्धन गर्नको लागि शालिग्राम महोत्सव वर्ष २०८१ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी एको थियो । महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने पन्तले जानकारी दिइन् ।

शालिग्राम महोत्सव वर्ष अन्तर्गत कार्त्तिकमा शालिग्राम महायज्ञको आयोजना हुने छ । महायज्ञमा उत्तर प्रदेश सरकारका मुख्यमन्त्री आदित्यनाथ योगीसहित धार्मिक गुरुहरूलाई निमन्त्रणा गरिएको छ ।

महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरी २५ वटा कार्यक्रम गरिने । त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठी, सभा सम्मेलन हुने छ ।

महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्र ल्याउने उद्देश्य राखिएको छ । २०८१ को चैतमा शालिग्राम महोत्सव समापन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर