वैकल्पिक गठबन्धन प्रयास जारी राख्न देउवा-माधव सहमत – Nepal Press

वैकल्पिक गठबन्धन प्रयास जारी राख्न देउवा-माधव सहमत

जसपालाई फकाउने, नाउपा रेशमको पकडमा लैजाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति बनेको छ।

बुधवार साँझ कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको घरमा भएको भेटमा वैकल्पिक गठबन्धन बनाउने गृहकार्य अघि बढाएका हुन्।

गठबन्धनमा असन्तुष्ट माधव नेपाललाई हातमा लिन सके जसपाको पनि समर्थन पाउने देउवाको विश्वास छ। यद्यपि, गठबन्धनको विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद छ। नाउपा अध्यक्ष नयाँ गठबन्धनको पक्षमा रहे पनि संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन्।

स्रोतका अनुसार दुई नेताबीच वैकल्पिक गठबन्धन बनाउन जसपालाई फकाउँदै नागरिक उन्मुक्तिलाई सँगै लिएर बढ्नेबारे गृहकार्य सुरु भएको छ।

पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा सभापतिले नेकपा एसका अध्यक्ष नेपालसँग भेट गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले प्रदेश सरकारको विषयमा कुराकानी भएको स्वीकारे।

उनले अहिले आफूहरूले केन्द्रको गठबन्धनबारे नसोचेको जिकिर गरे।

तर, देउवाले माधव नेपाललाई नै प्रधानमन्त्री बनाएर भएपछि प्रचण्डसँग बदला लिनको लागि एमाले नेतृत्वको गठबन्धन भत्काउन चाहन्छन्। त्यसो त यसअघि नै देउवाले नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको भने होइन।

देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ। यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो। यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ।

त्यसो त हिजो बसेको नेकपा एसको सचिवालयको बैठकले नयाँ गठबन्धनको सुरूआतमै प्रचण्ड-ओलीले विश्वासमा कुठाराघात गरेको निष्कर्ष गरेका थियो। नेकपा एस आफूले प्रधानमन्त्री पाए नयाँ जुनसुकै गठबन्धनमा पनि सामेल हुने रणनीतिका साथ अघि बढेको छ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनमा यसअघि  सहमतिका धेरै कागजहरू च्यातिएको उदाहरण रहेको तर्क गर्छन्।

बुधवारको सचिवालय बैठकपछि उनले भनेका थिए, ‘प्रधानमन्त्री प्रचण्ड र ओलीले आलोपालो प्रधानमन्त्री खाने बार्गेनिङ गर्दै नयाँ सत्ता समीकरण बनाएका हुन्। तर, यो गठबन्धनको सुरूमै गठबन्धनका मुख्य शक्तिहरूले विश्वासमाथि कुठाराघात गरिरहेका छन्। हामी उहाँहरूले जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै उत्तर दिनेछौँ। हामीलाई विश्वास गरे त्यही अनुसार चल्छौँ, कुनामा पार्न खोजे त्यही अनुसार हाम्रो कदम हुन्छ।’


प्रतिक्रिया

One thought on “वैकल्पिक गठबन्धन प्रयास जारी राख्न देउवा-माधव सहमत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर