साना दलको असन्तुष्टिबीच लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार, आजै साँझ शपथको तयारी – Nepal Press

साना दलको असन्तुष्टिबीच लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार, आजै साँझ शपथको तयारी

रुपन्देही । सरकारमा सहभागी तीन साना दलको असन्तुष्टिका बीच नेकपा एमालेसँग भएको सहमति कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।

जसपा, नेकपा एससँग विगतका सहमति कार्यान्वयन नगरे पनि माओवादीले एमालेसँग भने पूर्वसहमति अनुसार नै अगाडि बढेको छ । बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

सहमतिअनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय पाएका छन् ।

विस्तारित मन्त्रिमण्डलमा एमालेका चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

संसदीय दलका उपनेता आचार्यले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका हुन् । बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

चैत २३ गते मुख्यमन्त्री भएका महराको पार्टी नेकपा माओवादीले सहमति अनुसार मन्त्रालय नदिएको भन्दै जसपा, नेकपा एस र नाउपाको रेशम पक्षले बिहीबारै बैठक बसेर सरकारलाई साथ नदिने दाबी समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर