नेपालको बाटोमा फेरि यूएई, एक वर्षयताका भिडन्तमा यस्ताे छ ‘राइनोज’ काे दबदबा – Nepal Press

नेपालको बाटोमा फेरि यूएई, एक वर्षयताका भिडन्तमा यस्ताे छ ‘राइनोज’ काे दबदबा

काठमाडौं। ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा साबिक विजेता नेपालले शुक्रवार यूएईको चुनौती पाउँदै छ। यूएई त्यही टोली हो जसलाई लगातार हराएर नेपालले ऐतिहासिक उपलब्धि र सहभागिताहरू सम्भव बनाइरहेको छ।

गत नोभेम्बरमा मात्र नेपालले यूएईलाई नै हराएर १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा स्थानमा बनाएको थियो। नेपालमा आयोजित एसियाली छनोटमा नेपाली टोलीले सेमिफाइनलमा यूएईलाई पाखा लगाएर विश्वकपमा ठाउँ बनाएको थियो।

त्यसअघि गत वर्ष आयोजित एसीसी प्रिमियर कपमा यूएईलाई नै हराएर नेपालले उपाधि जित्दै पहिलो पटक एसिया कप खेलेको थियो।

यस पटक पनि प्रिमियर कपको विजेता एसिया कपका लागि छनोट हुने छ। त्यसैले नेपालले यूएईलाई हराएमा एसिया कप खेल्ने सम्भावना कायम मात्र रहने छ। गत वर्ष एकदिवशीय फर्म्याटमा आयोजित प्रिमियर कप अहिले टी-२० फर्म्याटमा सञ्चालन भइरहेको छ।

एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा यूएईले ५ खेलयता नेपाललाई हराउन सकेको छैन। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच अन्तिम पटक गत एसियाली छनोटको फाइनलमा भेट भएको थियो, नेपालमा।

उक्त नतिजाको ठिक एक साता अघि नेपालले घरेलु मैदानमा हङकङ र यूएईसँग त्रिकोणात्मक टी-२० शृङ्खला खेलेको थियो। त्यसमा लिग चरणमा यूएईविरुद्ध भएका दुवै खेल जितेको नेपाल फाइनलमा भने सोही टोलीसँग पराजित हुन पुगेको थियो।

युएईमाथि हाबी भइरहेको नेपाल

एसियाली एसोसिएट क्रिकेटमा यूएई र नेपाल चिरप्रतिद्वन्द्वी हुन्। सन् २००२ मा आयोजित तत्कालीन आईसीसीका एसियाली एसोसिएट सदस्यले मात्र खेल्ने सबैभन्दा ठुलो एकदिवशीय प्रतियोगिता एसीसी ट्रफीमा नेपाल र यूएई भिडेका थिए। दुर्भाग्य नेपाल त्यति बेला पहिलो सिनियर अन्तर्राष्ट्रिय क्रिकेट उपाधि जित्नबाट चुकेको थियो।

सन् १९९६ बाट सुरु भएको एसिसि ट्रफीमा यूएई सन् २००६ सम्म आइपुग्दा ६ संस्करण आयोजना भएकामा ५ वटामा फाइनल पुगेको थियो। नेपाल भने त्यही सन् २००२ मा मात्र फाइनल पुगेको थियो। सन् २००८ देखि एसीसी एलिट कपका रूपमा आयोजना सुरु भएको यो प्रतियोगिताको पहिलो संस्करण यूएईले जित्यो।

सन् २०१० मा नेपाल र अफगानिस्तान फाइनल पुगेका थिए।

नेपाल फेरि उपाधि जित्न असफल भयो। त्यसको दुई वर्षपछि यूएई र नेपाल फाइनल पुगेका थिए। फाइनल टाई भएपछि नेपाल र यूएईलाई संयुक्त विजेता घोषणा गरिएको थियो। पछिल्ला वर्षहरूमा युएईमाथि नेपालको दबदबा बढ्दो छ। एक समय सशक्त देखिएको हङकङ पछिल्लो समय खस्कँदो छ भने ओमानले व्यापक सुधार गरेको छ।

संयोग नै मान्नुपर्छ, नेपालका पछिल्ला निर्णायक प्रदर्शनहरूमा यूएई नै सिकार भएको छ। सन् २०२३ को मार्च १२ तारिखमा भएको विश्वकप लिग-२ को खेलमा यूएईलाई नै हराएर नेपालले एकदिवशीय मान्यता थप चार वर्षका लागि सुरक्षित गरेको थियो।

कीर्तिपुर मैदानमा भएको त्यस खेलमा नेपालले २ सय ४९ रनको लक्ष्य दिएको थियो भेन यूएई केवल ७१ रनमा समेटिएको थियो। नेपालका लागि ब्याटिङमा रोहित पौडेलले ७७, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रन बनाएका थिए।

ललित नारायण राजवंशीले ५ विकेट लिएपछि यूएई सस्तोमा समेटिएको थियो। अन्तिम खेलमा नेपालले फेरी यूएईसँग खेल्नु पर्ने थियो र त्यो खेल जितेमा एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्ने थियो।

पहिला ब्याटिङ गरेको यूएईले ३ सय ११ रनको विशाल लक्ष्य दियो। नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको अवस्थामा नतिजा डकवर्थका आधानमा निकालियो र घरेलु टोली ९ रनले विजयी भयो। त्यस खेलमा यूएईका आसिफ खानले एक सय १, भ्रित्या अरविन्दले ९४ र मुहम्मद वासिमले ६३ रन बनाएका थिए।

नेपालबाट भीम सार्कीले ६७, गुल्सन झाले ५०, आरिफ शेखले ५२ र कुशल भुर्तेलले ५० रनको पाली खेलेका थिए। खराब प्रकाशका कारण खेल रोकिनुअघि झाले अन्तिम समयमा आक्रामक सट प्रहार गर्दै नेपाललाई डकवर्थमा अगाडि राखेका थिए। विश्वकप लिग-२ का पछिल्ला १२ खेल खेल्नेक्रममा नेपालको यो ११ औँ जित थियो। त्यसमा हारेको एक खेल यूएईसँग नै थियो।

त्यसको झन्डै डेढ महिनापछि मे १ तारिखमा नेपाल र यूएई एसिसि प्रिमियर कपको फाइनल भिडेका थिए, कीर्तिपुर मैदानमै। वर्षाले प्रभावित खेल दुई दिन लगाएर सकिएको थियो। पहिला ब्याटिङ गरेको यूएईले एक सय १७ रन मात्र जोड्न सक्यो।

३३।१ ओभरमा अलआउट भएको यूएईविरुद्ध नेपालका ललित राजवंशीले ४ तथा सन्दीप लामिछाने र करन केसीले २/२ विकेट लिएका थिए। नेपालले ३०.३ ओभरमा ३ विकेट मात्र गुमाएर लक्ष्य भेट्टाएको थियो। गुल्सनले ६७ र भीम सार्कीले ३६ रन जोडेका थिए। यही जितले नेपालले पहिलो पटक भारत र पाकिस्तानका पहिलो रोजाइका टिम सहभागी हुने एसिया कपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो।

यूएईविरुद्ध नेपालको दबदबा यत्तिमै सीमित रहेन। यसबीचमा एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पनि यी दुई टोली भिडेकामा नेपाल विजयी भएको थियो। तर उल्लेखनीय भने गत नोभेम्बरमा भएको टी-२० विश्वकपको एसियाली छनोटको फाइनल नै थियो।

मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो। कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिएका थिए। यूएईका भित्र्या अरविन्दले ६७ रनको पाली खेलेका थिए। नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

आसिफ शेखले ६४ रनको पाली खेलेका थिए भने रोहित पौडेलले ३४ र गुल्सन झाले २२ रन जोडेका थिए। यही जितले नेपाल १० वर्षपछि टी-२० विश्वकपमा पुगेको हो। नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकप खेल्दै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर