मलेसियाले विदेशी श्रमिक नलिने पक्का, नेपालको अर्थतन्त्र र रोजगारीमै धक्का – Nepal Press

मलेसियाले विदेशी श्रमिक नलिने पक्का, नेपालको अर्थतन्त्र र रोजगारीमै धक्का

स्वास्थ्य व्यवसायीको २ अर्ब लगानी जोखिममा, वैदेशिक रोजगारीको ४४ प्रतिशत हिस्सा ओगट्ने मलेसियाको श्रम बजार खुलाउन के गर्दैछ नेपाल सरकार ?

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले वैशाख नौ गते अर्थात् अप्रिल २१ तारिखदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ । मलेसियाले विदेशी कामदार नलिँदा यसको ठूलो असर नेपाललाई पर्ने देखिएको छ । नेपालसहित विभिन्न १५ वटा मुलुकबाट मलेसियामा कामदार जाने गरेकोमा नेपाली श्रमिकको सबैभन्दा मुख्य गन्तव्य नै मलेसिया भएका कारण नेपाललाई सबैभन्दा बढी असर पर्ने देखिएको हो ।

सुरुमा मलेसियाले गत मार्च ३१ तारिखदेखि बाहिरी मुलुकबाट श्रमिक नलिने निर्णय गरेको भए पनि करिब २१ दिन थप गरेर अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी कामदार नलिने निर्णय गरेको छ । अवैधानिक कामदारलाई फिर्ता पठाउने उद्देश्य मलेसियाको देखिन्छ ।

मलेसियाले एक करोड ७० लाख श्रमिकमध्ये आप्रवासी कामदारको संख्या १५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेसँगै नेपालसहित १४ देशबाट श्रमिक नलिने निर्णय गरेको हो । मलेसियाका गृहमन्त्री सेरी सैफुद्दीन इस्माइलले आप्रवासी कामदारको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले मार्च अप्रिल २१ तारिखपछि आप्रवासी कामदार नलिइने बताएका थिए । तर, मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे

मलेसियन सरकारको यो निर्णयबाट नेपाल प्रभावित हुने वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल प्रेससँग बताए । मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि उसको आधिकारिक वक्तव्यमा विदेशी कामदार नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा परेको उनको भनाई छ ।

महानिर्देशक घिमिरेले भने, ‘सुरक्षा गार्डबाहेक अन्य सबै श्रमिक नलिने मलेसियन सरकारले निर्णय गरेको छ । यो नेपाली श्रमिकका लागि मात्रै नभएर विभिन्न १५ वटै मुलुकबाट नलिने निर्णय गरेको हो । मलेसियाकै श्रमिकले रोजगारी नपाउने अवस्था आएर यस्तो निर्णय गरेको भन्ने पनि सुनिएको छ । यो नेपालको कुनै कारणले भन्दा पनि उक्त देशकै इच्छाले बन्द गरेको हो । नेपाली श्रमिकका लागि राम्रो गन्तव्य मुलुक हो । यसको असर नेपाली श्रमिक युवा, म्यानपावर कम्पनी र स्वास्थ्य व्यवसायीलाई पनि पर्छ ।’

नेपालको दोस्रो श्रम बजार मलेसिया

अहिले करिब पाँच लाख भन्दा बढी बढी नेपाली वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेको वैदेशिक रोजगार विभागको अनुमान छ । यो संख्या वैधानिक रूपमा मलेसियामा श्रम स्वीकृति लिएर गएकाहरूको हो । अवैध रूपमा बसेका र अन्य तरिकाबाट मलेसियामा कार्यरत रहेको संख्या पनि धेरै नै छ ।

मलेसिया जान सजिलो र सिपविहीन हुँदा पनि त्यसै अनुसारको काम पाइने र नेपालकै जस्तो वातावरण भएकाले मलेसिया नेपाली युवाको प्रमुख रोजगार गन्तव्य मुलुक बन्दै आएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै जम्मा वैदेशिक रोजगारीको ४४ प्रतिशत नेपाली युवा मलेसिया पुगेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्द रिजाल
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्द रिजाल

नेपाली युवाको वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक युएईपछि दोस्रो प बनेको मलेसियाले आप्रवासी कामदार नलिने भएपछि नेपालको बेरोजगारी समस्या बढ्ने चिन्ता थपिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द रिजालले बताए ।

उनका अनुसार मुख्य गन्तव्य नै कामदार लिन बन्द गरेपछि नेपाली रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउने भन्दै यसका लागि सरकारले चाँडै अरू नयाँ गन्तव्य पहिचान गर्ने गरी योजना बनाइरहेको छ ।

म्यानपावर र स्वास्थ्य व्यवसायी चिन्तामा

वैदेशिक रोजगार व्यवसायीले भने मलेसियामा विदेशी कामदारका लागि रोजगारी पूर्ण रूपमा बन्द हुनु दुखद भएको बताएका छन् । तर जतिसक्दो चाडै मलेसियाले नेपाली कामदार लिने निर्णय गर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

भण्डारीले नेपाल प्रेससँग भने, ‘सुरुमा मार्च ३१ देखि बन्द गर्ने भनेको भए पनि केहि दिन थपेर अप्रिल २१ सम्म पुर्‍याएको थियो । अब अप्रिल २१ देखि पूर्ण रूपमा बन्द हुने भयो । सुरक्षा गार्डको हकमा होइन, तर त्यसले एकदमै थोरै मात्रै हिस्सा ओगटेको छ । अहिले भन्नलाई त मलेसिया सरकारले कम्तीमा तीन महिना भनेको छ । त्यो भनेको ६ महिना वर्ष दिन पनि जान सक्छ । यसले नेपाली श्रमिक युवासँगै म्यानपावर व्यवसायीलाई पनि ठुलै असर पर्छ ।’

संघका अध्यक्ष भण्डारीले यसको विकल्पमा अन्य श्रम गन्तव्य मुलुकको खोजी गरेर सरकारले खोल्नका लागि पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘मलेसिया बन्द भयो भनेर अब चुप लागेर सरकार बस्नुहुँदैन । त्यसको विकल्पमा अरू मुलुकमा रोजगारी खोल्नुपर्छ । त्यो सँगै श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीचको माग पत्र प्रमाणीकरणको विवादित विषय पनि सरकारले टुंगो लगाउनुपर्छ । परराष्ट्र मन्त्रालयले आफू पनि नगर्ने श्रम मन्त्रालयलाई पनि गर्न नदिने गर्नुहुँदैन ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण बायोमेडिकल प्रणालीबाट हुने गरेको छ । मलेसिया सरकारले तोकेको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरुबाट अत्याधुनिक उपकरण जडान गरेर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । अहिले स्वास्थ्य व्यवसायीहरूले स्वास्थ्य परीक्षण बन्द गरेका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठले १९ तारिखदेखि स्वास्थ्य परीक्षण रोक्ने निर्णय भएको बताए । मलेसिया सरकारको मापदण्ड पूरा गरेका तथा नेपाल र मलेसिया सरकारले सूचीकृत गरेका ३६ वटा स्वास्थ्य संस्थाबाट बायोमेडिकल प्रणालीबाट स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

मापदण्ड बमोजिमका अत्याधुनिक उपकरण जडान गर्दा व्यवसायीले ठूलो लगानी गरेका छन् । मलेसिया सरकारको पछिल्लो निर्णयले २ अर्बभन्दा बढी लगानी गरेका स्वास्थ्य व्यवसायी समेत मारमा परेका छन् । सरकारले तत्काल पहल नगरे ठूलो लगानी डुब्ने र देशलाई आर्थिक भार समेत बढ्ने उनले बताए ।

मलेसियासँग श्रम सम्झौताको अवधि पनि समाप्त

नेपाल र मलेसिया सरकारबीचमा भएको श्रम समझदारीको म्याद समाप्त भइसकेको छ । पाँच वर्ष अघि २०७५ कात्तिकमा नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले शून्य लागतमा नेपाली श्रमिक पठाउने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

मलेसियाले यस्तो सम्झौता कामदार स्रोत देशमध्ये नेपालसँग मात्रै गरेको छ । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा २०८० माघ १८ गते काठमाडौंमा भएको बैठकले श्रम सम्झौतालाई नवीकरण गर्ने विषय टुंग्याउन संयुक्त प्राविधिक समितिको बैठक तीन महिनाभित्र बस्ने सहमति गरेको थियो ।

यो समितिमा दुवै देशका गृह, श्रम, परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारी संलग्न हुन्छन् । तर बैठकको मिति तय हुन नसक्दा श्रम सम्झौता नवीकरण हुने नहुनेबारे अझै अन्योल कायमै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब बस्ने प्राविधिक बैठकले सम्झौता नवीकरण गर्ने जनाएको छ । बैठकका लागि मलेसियाले समय तालिकासहितको एजेन्डा मागिसकेकाले मन्त्रालयले आन्तरिक गृहकार्य गरी छिट्टै पठाउने र बैठक तय गर्ने श्रम मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले बताए ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टका पालादेखि मलेसियाको रोजगारीमा समस्या छ । सस्तो लोकप्रियताका लागि मलेसिया सरकारको मापदण्ड बमोजिम चलेका स्वास्थ्य संस्था लगायतका सेन्टरहरूमा छापा मारेर धरपकड गरेपछि मलेसियाको रोजगारी २ वर्षसम्म बन्द भएको थियो ।

नेपालबाट कामदार नलिएर मलेसियाले बङ्गलादेशबाट लिएको थियो । विष्टको सो कदमपछि एयर एसियाको उडान समेत नेपालमा बन्द भएको थियो । मलेसियाको रोजगारी अनिश्चित हुँदा राज्यको समग्र अर्थतन्त्रमै असर पर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीले बताए । रेमिट्यान्सदेखि स्वास्थ्य व्यवसायीबाट उठ्ने राजश्वमा समेत प्रत्यक्ष असर पर्नेछ ।

कामदार ल्याउने १५ वटा स्रोत मुलुकमध्ये सबैभन्दा झन्झटिलो प्रक्रिया नेपालमा भएको मलेसियाको बुझाइ छ । मलेसियामा जाने कामदारमा सबैभन्दा बढी इन्डोनेसिया, दोस्रोमा बंगलादेश र तेस्रोमा नेपाल पर्छ  ।

वैदेशिक रोजगारीको ४४ प्रतिशत मलेसियामा

गत आर्थिक वर्ष खाडीमा रोजगारीको अवसर खुम्चिएका बेला मलेसिया सबैभन्दा पहिलो गन्तव्य मुलुक बनेको छ । गत वर्ष चार लाख ९४ हजार २२४ जना नेपाली युवा विभिन्न १४४ मुलुकमा पुग्दा ४४.३८ प्रतिशत अर्थात् दुई लाख १९ हजार ३५७ जना नेपाली मलेसिया गएका छन् ।

यो पहिलो पटक श्रम स्वीकृति लिएकाको तथ्यांक मात्रै हो । मलेसियाको न्यूनतम तलब खाडीका देशभन्दा उच्च रहने गरी १५ सय रिंगेट अर्थात् ४२ हजार रुपैयाँ तोकिएको छ । नेपालबाट मलेसियाले औपचारिक रूपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो ।


प्रतिक्रिया

2 thoughts on “मलेसियाले विदेशी श्रमिक नलिने पक्का, नेपालको अर्थतन्त्र र रोजगारीमै धक्का

  1. अझ बिश्वका सम्पुर्ण देशले लागू गर्नुपर्छ यस्तो नीति कमसेकम नेपाली हरु आफ्नो देशमा त काम गर्थे ।आफ्नो गाउँ तिरका जग्गा जमिन बाँझो राखेर के केन बिदेश जानुपर्ने बरु आफ्नै जमिनमा आधुनिक कृषि गर्नु आत्म निर्भर हुनु बिदेस निर्यात गर्नु ।उल्टै आफ्नो खेतको धान सस्तोमा बेचेर त्यसैको चामत महंगोमा किन्ने बुद्दि भएका हरुलाई त ठिक्क पर्यो

  2. नेपाल सरकारले आफ्नै दश म रोजगारीको सिर्जना गर्नु पर्छ र निजी क्षेत्र खुकुलो बनाउनु पर्छ ताकि रोजगारीको अवसर सिर्जना होस कृषि,पर्यटन, आउद्योगिक लगायतका तमाम क्षेत्रमा जोड दिन जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर