सुदूरपश्चिममा मुख्यमन्त्री उल्झन: एकीकृत समाजवादीका सोडारी एमालेलाई अस्वीकार्य ! – Nepal Press

सुदूरपश्चिममा मुख्यमन्त्री उल्झन: एकीकृत समाजवादीका सोडारी एमालेलाई अस्वीकार्य !

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अघि सारेको छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका सोडारीलाई नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । यसअघि मंगलबार नेकपा एकीकृत समाजवादी संसदीय दल सुदूरपश्चिमले पनि सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी निर्णय गरेको थियो ।

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा सोडारी अघि सार्दा एमालेले भने अझै त्यस विषयमा ठोस निर्णय गरेको छैन । स्रोतका अनुसार एमाले नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार छ । तर, मुख्यमन्त्रीमा सोडारीबाहेकलाई अघि सार्नुपर्ने उसले शर्त राखेको छ ।

नेकपा एकीकृत समाजवादीभित्रै पनि कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा बुधबार काठमाडौं व्यापक छलफल भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका चार सांसद छन् । सोडारीबाहेक अरु जो बनाए पनि हुने भन्दै नेकपा एसभित्र पनि बहस सुरु भएको स्रोतको दाबी छ ।

यहाँ सोडारीबाहेक उपनेता प्रकाश रावल, नरेश शाही र माया पन्त प्रदेशसभा सदस्य छन् । सोडारीबाहेक रावल, शाही र पन्त जसलाई मुख्यमन्त्री बनाए पनि सहज हुने विषयमा शीर्ष नेताहरूले पनि छलफल गरेका थिए । अन्ततः नेकपा एसको सचिवालयले सोडारीकै नाम सदर गर्‍यो ।

समाजवादीले सोडारीलाई मुख्यमन्त्री बनाउने भने पनि अहिलेसम्म एमाले त्यसमा सहमत भएको छैन । मंगलबार राति नै एमाले शीर्ष नेताहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने तर मुख्यमन्त्री बन्ने सांसद विवादरहित हुनुपर्ने बताएका थिए ।

‘सोडारी विवादित पात्र हुन् । उनीविरुद्ध मुद्दा छ’, एमाले उच्च स्रोतले भन्यो, ‘विवादित व्यक्तिको हातका प्रदेश सरकारको जिम्मा लगाउने विषयमा हामी गम्भीर छौं ।’

नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन एमाले तयार रहेको तर, सोडारीबाहेकका अन्य जो कुनै सांसद भए पनि हुने स्रोतले बतायो । एमाले नेताहरूले पनि सोडारीको विकल्प दिन नेकपा एकीकृत समाजवादीका केही नेताहरूलाई आग्रह गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी हुँदा नैतिक विचलन देखिएको भन्दै सोडारीलाई साधारण सदस्य नरहने गरी कारबाही गरिएको थियो । उनी त्यो बेला सामाजिक विकासमन्त्री थिए । सोडारीलाई पार्टीले कारबाही गरेपछि उक्त मन्त्रालयको जिम्मेवारी कृष्ण सुवेदीले पाएका थिए ।

अहिले सोडारीबाहेकका अन्य कुनै पनि सांसदलाई मुख्यमन्त्री बनाउने तर, उनलाई नबनाउने मत एमालेमा बलियो रुपमा देखिएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा पनि यो विषयमा छलफल भएको थियो । व्यक्तिगत छवि र विभिन्न आरोपका कारण तत्काल उनलाई समर्थन गर्न नसकिने मत बलियो रुपमा आएको दलको बैठकमा रहेका एक प्रदेशसभा सदस्यले बताए ।

आइतबारमात्रै सोडारी केन्द्रमा एमाले-माओवादी गठबन्धन हुँदा प्रदेशमा वैकल्पिक गठबन्धनको प्रयासमा लागेको पनि एमालेको आरोप छ । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता सोडारीले आइतबार एमाले-माओवादीको समर्थन रहेको उम्मेदवारलाई समर्थन नगरेर कांग्रेससहितको समर्थन रहेको उम्मेदवारलाई समर्थन गरेका थिए । उक्त कारणले पनि एमाले उनीप्रति थप चिढिएको हो ।

मंगलबार केन्द्रमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई नाउपाका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका थिए । आफैं मुख्यमन्त्री बन्ने गरी मंगलबार आफ्नो समर्थन फिर्ता लिएका सोडारीले एमालेको ग्रिन सिग्नल नपाउँदा बुधबार पनि दाबी पेश गर्न पाएनन् ।

मंगलबार प्रदेश प्रमुख मियाँले बिहीबारसम्मको लागि दाबी पेश गर्ने समय दिएका छन् । बुधबारसम्म पनि मुख्यमन्त्रीका विषयमा विवाद उत्पन्न भएपछि अब बिहीबार यस विषयमा छलफल अगाडि बढ्ने बताइएको छ । बिहीबार सुदूरपश्चिम प्रदेशका विषयमा केन्द्रमा छलफल हुने र त्यहीअनुसार आफूहरू अगाडि बढ्ने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

‘अहिलेसम्म हामीलाई केन्द्रबाट त्यस्तो केही आएको छैन । हाम्रो नेतृत्वबाट हामीसम्म आएपछि हामी अगाडि बढ्छौं’, उनले भने, ‘कागजपत्र तयार छन् । केन्द्रबाट आउनुपर्ने कुरामात्रै हामी पर्खिरहेका छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार इलाम रहेको र फर्किएलगत्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको विषय टुङ्गो लाग्ने रावलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर