रोकियो इजराइल-हमास वार्ता – Nepal Press

रोकियो इजराइल-हमास वार्ता

दोहा । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको बुधबारको पत्रकार सम्मेलनमा भने, ‘हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका छौं र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौं ।’

अमेरिका र इजिप्टसँग कतार गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकको रिहाइका लागि धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छ ।

प्रधानमन्त्री शेख मोहम्मदले भने, ‘गाजामा मानिसहरूले भोगिरहेको पीडाको अन्त्य गर्न तथा बन्धकहरूलाई फिर्ता गर्न वार्ताकारहरूले प्रयास गरिरहेका छन् ।’

मध्यस्थकर्ताहरूले रमजानको प्रारम्भभन्दा अघि नै युद्धविराम हुने अपेक्षा गरेका थिए । तर, विनाप्रगति बारम्बार वार्ता असफल भयो । यसको सट्टा यसै साताको अन्त्यमा आफ्नो कट्टर दुश्मन इजराइलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमणपछि गाजामा महिनौंदेखि जारी युद्ध क्षेत्रीय युद्धमा परिणत हुने डर बढेको छ ।

‘युद्धको दायरा विस्तारविरुद्ध यो युद्धको प्रारम्भदेखि नै चेतावनी दिइएको थियो र आज हामीले विभिन्न मोर्चामा युद्ध देखिरहेका छौं’, कतारी प्रधानमन्त्रीले भने, ‘हामी लगातार अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो जिम्मेवारी सम्हाल्न र यो युद्धलाई रोक्न आह्वान गरिरहेका छौं ।’

उनले गाजाका बासिन्दाले ‘घेराबन्दी र भोकमरी’ को सामना गर्नुपरिरहेको भन्दै मानवीय सहायतालाई ‘राजनीतिक ब्ल्याकमेलको उपकरण’ का रूपमा प्रयोग गरिएको बताए । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर