रूपन्देहीको रोहिणी नदी किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू – Nepal Press

रूपन्देहीको रोहिणी नदी किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू

जग्गा विवाद समाधान गरेर टेण्डर गरेकाे निगमकाे भनाइ

रूपन्देही । रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रकृया अघि बढेको छ । नेपाल आयल निगम लिमिटेडले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाको सीमामा पर्ने रोहिणी खोला किनारमा भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माणको कार्य शुभारम्भ गरेको हो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले बुधबार संयुक्त रुपमा भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

रोहिणीका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताए । उनले स्थानीयलाई रोजगारी दिनेतर्फ ध्यान पुर्याउन नेपाल आयल निगमलाई आग्रह गरे । उनले भने, ‘यो परियोजना यहाँ सञ्चालन हुने भएकाले खुसी र्छौ । स्थानीयबासी मर्कामा पर्नुभएन ।’

विगतमा जग्गासम्बन्धी विवाद भएकाले भएका समस्या समाधान गर्दै र समस्या नआउने गरी अघि बढ्न उनले सुझाव दिए । आफूहरु जनताको प्रतिनिधि भएकाले जनताको पक्षमा काम हुनुपर्ने मान्यता राख्दै आएको उनको भनाइ छ ।

ओमसतियाका अध्यक्ष मञ्जित कुमार यादवले पेट्रोलियम भण्डारण गृह निर्माण भएसँगै यस क्षेत्रको विकास हुने र रोजगारी सिर्जना हुने बताए । उनले रोजगारीमा स्थानीयलाई नै प्राथमिकता दिन आग्रह गरे । उनले भने, ‘गाउँपालिकाबाट आवश्यक सहयोग हुन्छ ।’

रिटेनिङ वाल लगाउँदा अन्यत्र बाढी आउने त्रास भएकाले त्यसमा ध्यान दिनुपर्नेमा अध्यक्ष यादवले जोड दिए । उनले खोलामा उचाइ बनाउँदा बाढी आउने डर भएको र यहाँ रोक्दा अन्यत्र बाढी जाने डर भएकोप्रति ध्यान दिन आग्रह गरे ।

नेपाल आयल निगम लिमिटेडका उपनिर्देशक तथा पेट्रोलियम भण्डारण गृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप कुमार यादवले सम्पूर्ण विवादहरु समाधान भएर परियोजना अगाडि बढाउन बजेट स्वीकृत भएको बताए । उनले भने, ‘यहाँ कुनै काम गर्दा यस क्षेत्रका जनप्रतिनिधि, स्थानीयबासीलगायतसँग सरसल्लाह सहयोग लिन्छौं । तपाईहरुको सहयोग बिना अगाडि बढ्न सक्दैनौ ।’

इञ्जिनियर यादवका अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा पेट्रोलियम भण्डारण गृह निर्माण हुन लागेको हो । पेट्रोल भण्डारणका लागि १ हजार ६ सय किलोलिटर क्षमताका २, डिजेल भण्डारका लागि २ हजार १ सय किलोलिटर क्षमताका ३ र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका ३ वटा ट्यांक निर्माण गरिने उनले जानकारी दिए ।

नेपाल आयल निगम लिमिटेडका प्रबन्धक रामहरि निरौलाले अब विकास शहर केन्द्रीत मात्र गर्न नहुने बताए ।

कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष करम हुुसेन खान, ओमसतिया गाउँपालिका–५ का अध्यक्ष मदन पोखरेल, व्यवसायी प्रेम न्यौपाने, पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेश कसौधन, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका प्रेम न्यौपानेलगायतले बोलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर