कोशी प्रदेशमा लोकसेवा आयोगको विज्ञापन विवादमा, कर्मचारीले गरे विरोध (भिडिओ) – Nepal Press

कोशी प्रदेशमा लोकसेवा आयोगको विज्ञापन विवादमा, कर्मचारीले गरे विरोध (भिडिओ)

काठमाडौं । कोशी प्रदेशको लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौं तहको विज्ञापनप्रति निजामती कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

कोशी प्रदेश लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौँ तहको विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् । आयोगले नवौं तहको कूल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो ।

लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौं तहका विभिन्न सेवा, समूह र उप–समूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो । लोकसेवाले गरेको उक्त विज्ञापन नियमसंगत् नरहेको भन्दै आठांै तहका लेखा अधिकृतहरूले रद्द गर्न माग गरेका छन् ।

लोकसेवाले संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) नै नगरी विज्ञापन खोलेको भन्दै आठौं तहका लेखा अधिकृत भगवानमान श्रेष्ठले अन्य कार्यरत कर्मचारीको वृत्ति विकासमा अवरोध पुगेको बताए ।

कोशीका लेखा अधिकृतहरूले आयोगको विभेदपूर्ण विज्ञापन रद्ध गर्न भन्दै गत चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई पत्र पठाएका थिए । लोकसेवाले विज्ञापन आह्वान गर्नुअघि ओएनएम गर्नुपर्ने भए पनि त्यसो नगरी विज्ञापन खुलाउनु ऐन विपरीत रहेको उनीहरुको भनाई छ ।

प्रदेश निजामती सेवा ऐनको दफा ८ मा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि अधिकृत आठौँ तहसम्मको पदमा सम्बन्धित सेवा, समूह वा उप–समूहको एक तहमुनिको पदको कर्मचारी तथा नवौं र दशांै तहको पदमा न्युनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा भएका सम्बन्धित सेवाको कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुने व्यवस्था छ ।

ऐनमा भएको उक्त व्यवस्थाको माध्यमबाट नवौं तहको पदमा सबै समूह र उप–समूहको कर्मचारीको वृत्ति विकासको बाटो खोलिएको छ । तर लोकसेवाले उक्त व्यवस्थाविपरीत विज्ञापन खुलाएको आरोप लगाएर रुष्ट भएका अधिकृतहरूले अदालत जाने तयारी गरेका लेखा अधिकृत तुलसी श्रेष्ठले बताए ।

यसअघि प्रदेश सरकारले डा. चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले पनि ओएनएम नभएका कारण कतिपय कार्यालय बोझिला र खर्चिला बन्दै गएको औंल्याएको थियो । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ओएनएम गर्ने विषय उल्लेख गरिएको छ ।

तर, लोकसेवा आयोगले उक्त सबै व्यवस्थालाई नजरअन्दाज गर्दै विज्ञापन खुलाएपछि लेखा अधिकृतहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । कोशी प्रदेश लोकसेवा आयोगले भने प्रदेश निजामति सेवा ऐनकै व्यवस्था बमोजिम आफुहरूले विज्ञापन खुलाएको दाबी गरेको छ । कोशी प्रदेश लोकसेवा आयोगका कार्यबाहक अध्यक्ष टिकादत्त राईले निजामती सेवा ऐनकै व्यवस्था अनुसार विज्ञापन गरिएको बताए ।

ओएनएम गर्ने कुरा जुन दफामा उल्लेख भएपनि दफा ८ को उपदफा १ बमोजिम संघीय सरकारबाट हस्तान्तरण भएका पदहरूमा भने पदपूर्ति गर्न यो ऐनले बाधा नपुर्याउने भनिएका कारण विज्ञापन आह्वान गरिएको उनले स्पष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर