स्टेजमै युवतीहरूको ‘किस’ पाएका गायक दूतराज आल्हादित हुँदै भन्छन्- यो उहाँहरूको माया हो – Nepal Press

स्टेजमै युवतीहरूको ‘किस’ पाएका गायक दूतराज आल्हादित हुँदै भन्छन्- यो उहाँहरूको माया हो

काठमाडौँ । गायक प्रकाश दूतराज अस्ति पोखराको एउटा महोत्सवमा केही युवतीहरूको ‘सिरियल किसिङ’ मा परे । गीत गाइरहँदा ४–५ जना युवती पालैपालो स्टेजमा उक्लेर उनलाई किस गर्दै भागेका थिए ।

यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा रमाइला प्रतिक्रियाहरू आइरहेका छन् । धेरैको टिप्पणी छ, ‘यदि कुनै महिला कलाकारलाई पुरुष फ्यानले यस्तो गरेको भए ह्यारेसमेन्टको केसमा मुद्दा चल्थ्यो । महिलालाई जे पनि छुट छ ।’

हेम्जा आलु महोत्सवमा गीत गाउँदा गाउँदै युवतीले किस गरेपछि दूतराज स्तब्ध बनेका थिए । उनको अनुहार लाजले रातोपिरो भएको थियो । उनको प्रस्तुति भने बिथोलिएन, तर उनको गायकीमा अलिकति प्रभाव भने पर्‍यो नै ।

फ्यानहरूको त्यो दिवानापनलाई गायक दूतराजले नकारात्मक रूपमा लिएका छैनन् । बरु आल्हादित छन् उनी । यसलाई दर्शकको मायाका रूपमा उनले अर्थ्याए । यद्यपि, आफूलाई त्यो क्षण लाज भने लागेको दूतराजको स्वीकारोक्ति छ ।

स्टेजमै उक्लेर युवतीहरूले किस खाँदा कस्तो अनुभूति भयो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले लजाउँदै जवाफ दिए, ‘माया गर्नुभयो भनुम् न किस भन्दा पनि । अलिअलि लाज पनि लाग्यो । स्टेजमा चार–पाँच जना आएर त्यसरी माया गर्नुभयो ।’

स्टेज कार्यक्रममा जाँदा फ्यानहरूको घेराउमा त दूतराज परि नै रहन्थे । तर, यो स्तरको ‘क्रेज’ भने पहिलो पटक फेस गरेका हुन् ।

‘कार्यक्रमपछि भेट्न र फोटो खिचाउन चाहनेहरू त धेरै हुनुहुन्छ । तर, यसरी किसै खानुभएको चाहिँ थिएन । मैले यसलाई जीवनकै एउटा अविस्मरणीय सम्झनाको रूपमा संगालेको छु,’ उनले भने ।

दूतराज थप्छन्, ‘म त सरप्राइज नै भएँ । गाउन घरीघरी रोकिएँ । भावुक पनि भएँ । हेम्जाको यो कार्यक्रममा उहाँहरूले दिएको माया र सद्भावलाई सधैँ सम्झिने छु । नकारात्मक हिसाबले पटक्कै लिएको छैन । मलाई एउटा परिवार सोचेर र मनमा राखेर उहाँहरूले त्यस्तो गर्नुभएको हो । उहाँहरूले जति माया गर्नुहुन्छ, त्यति नै हामीमा सकारात्मक इनर्जी थपिन्छ ।’

स्टेजमा किस खाने युवतीहरूसँग दूतराजको कार्यक्रमपछि भेट भएन । फ्लाइट छुट्ने भएकाले कार्यक्रम सकिनासाथ उनी त्यहाँबाट निस्किएका थिए ।

स्टेजमै आएर किस गर्ने फ्यानहरूलाई भेट्न चाहनुहुन्छ रु भन्ने प्रश्नमा भने दूतराजले हाँस्दै जवाफ दिए, ‘चाहने भन्दा पनि भेट्ने अवसर मिल्यो भने म उहाँहरूलाई धन्यवाद दिने छु । सदैव यसरी नै मेरो साथमा रहिदिनु भन्छु ।’

दूतराज अविवाहित गायक हुन् । उनले आफू अहिले सिंगल रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *