कांग्रेस गण्डकीले भन्यो- प्रदेश प्रमुख गैरजिम्मेवार, प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुन्छ
पोखरा । नेपाल कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सर्वोच्च अदालतको आदेश अवहेलना गरेको बताएका छन् ।
बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले सर्वोच्चको आदेश अवहेलना हुने गरी सरकारले विभिन्न नियुक्ति र प्रदेश सभा बैठक आह्वान गर्नु गैरजिम्मेवार भएको बताएका हुन् ।
‘…अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरू गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेकालागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र मा। प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैर जिम्मेवार कदम हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।
आदेश र संविधानको बेवास्ता गर्दै गरिएका क्रियाकलापप्रति गम्भीर असहमति रहेको निवर्तमान मुख्यमन्त्री पाण्डेले बताए । यसबाट प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुने पाण्डेले उल्लेख गरे ।