कोशीमा किचलो : सङ्कल्प प्रस्तावको फेस गरेर जाने कांग्रेस संसदीय दलको निर्णय – Nepal Press

कोशीमा किचलो : सङ्कल्प प्रस्तावको फेस गरेर जाने कांग्रेस संसदीय दलको निर्णय

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको कोशीको बैठकले एमाले र माओवादीले संसद सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्ताव फेस गरेर जाने निर्णय गरेको छ ।

संसद सचिवालयमा सङ्कल्प प्रस्ताव पेस भएकाले तत्काललाई प्रस्तावको फेस गरेर जाने निर्णय गरेको हो । बैठकले संविधान र कानूनले दिएको अधिकारसम्म मात्र सरकारलाई सहयोग गर्ने नीति लिएर अघि बढ्ने भएको छ ।

२१ जना प्रदेश सभा सदस्यले दलको बैठकमा सरकारको आलोचना गरेपनि अब सरकारलाई कसरी बचाएर लग्ने भन्ने बारेमा धारणा राखेका थिए ।

दलको बैठकले सरकार टिकाउनको लागि पहिलो चरणमा बहुमत जुटाउने प्रयास गर्ने र प्रदेश सभामा पेश हुने सङ्कल्प प्रस्तावको सन्दर्भमा संवैधानिक र कानूनी व्यवस्थासम्म सरकारको पक्षमा उभिने निर्णय भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए ।

‘सङ्कल्प प्रस्ताव दर्ता हुने भएपछि फेस गरेरै जाने निर्णय भएको छ, उनले भने, सरकार टिकाउन आवश्यक बहुमत जुटाउने बारेमा पनि सक्दो पहल गर्ने बारेमा छलफल भएको छ ।’

प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा सरकारको नेतृत्व गर्ने व्यक्तिले सही निर्णयहरू गर्न नसक्दा अहिलेको अवस्था आएको भन्दै मुख्यमन्त्री केदार कार्कीको आलोचना गरेका थिए । सङ्कल्प प्रस्ताव पास भए के गर्ने भन्नेमा चाँही दलले निर्णय गर्न सकेन ।

प्रस्ताव पास भए यस बारेमा वैठक बसेर निर्णय गर्ने वैठकमा सहभागि एक प्रदेश सभा सदस्यले बताए । एमाले र माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई बैशाख २६ गते सम्ममा विश्वसको मत लिन र नलिए नयाँ सरकारका लागि बाटो खोल्दिन निर्देश सहित सङ्कल्प प्रस्ताव पेस गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले भोली कोशी प्रदेश सभा बोलाएका छन् । भोलीको प्रदेश सभामा सङ्कल्प प्रस्ताव संसदमा टेवल गर्ने तयारी छ ।

एमालेका ३९ जना प्रदेश सभा सदस्यले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् । यस्तै माओवादी र एमालेका प्रदेश सभा सदस्यले कार्कीलाई दिएको विश्वसको मत समेत फिर्ता लिएपछि कार्की अल्पमतमा परेका छन् ।

अल्पमतमा परेपनि आफू संबिधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री बनेको भन्दै कार्की विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् । एमाले माओवादीले भने संसदमा अल्पमतमा सरकार परेपछि सरकारमा बस्न नहुने भन्दै सङ्कल्प प्रस्ताव पास गराउने तयारीमा छन् ।

कोशी प्रदेश सभामा एमालेका उप सभामुख सहित ४० प्रदेश सभा सदस्य छन् । यस्तै माओवादीका १३ प्रदेश सभा सदस्य छन् । काङ्ग्रेसका भने २९ प्रदेश सभा सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर