इलाममा ओलीको वचन : इलामको विकासको जिम्मा सुहाङले लिन्छ सुहाङको जिम्मा म लिन्छु (भिडिओ) – Nepal Press

इलाममा ओलीको वचन : इलामको विकासको जिम्मा सुहाङले लिन्छ सुहाङको जिम्मा म लिन्छु (भिडिओ)

‘पैसा कमाउन, बाटोको ठेक्का लिएर कमिसन खान उकाली ओराली सुहाङ हिँडिरहेको छैन, समृद्ध नेपाल सुखी नेपाली बनाउने सङ्कल्प बोकेर हिँडेको छ’

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ मा भएको चुनावी सभामा बोल्दै उनले भने, ‘हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने ? उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौं ।’

उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा संस्कृतिका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भने, ‘हामीले सङ्घीयताको कुरा संविधानमा लेख्यौं, भाषा संस्कृति र पहिचानको कुरा लेख्यौ अहिले त्यही संविधान पढेर हामीले लेखेको कुरा अहिले हामीलाई सुनाउने ?’

ओलीले एमालेले कुनै पनि विश्वासलाई हेला नगर्ने बताए । उनले भने, ‘आफ्नो धर्म के हो पालना गर्नु नि अरूलाई किन हेला गर्नु ?’ उनले अहिले अरूको धर्मलाई हेला गर्ने चलन बढेको भन्दै यो राम्रो कुरा नभएको बताए । सामाजिक सद्भाव कायम गर्न र सामाजिक समानता कायम गर्नु एमाले लागेको बताए । उनले सबै धर्म भाषाभाषी, संस्कृतिको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुने बताए ।

इलाम बनाउने हो भने एमालेले मात्रै समाधान गर्न सक्ने बताए । देउमाई नगरपालिकामा खानेपानीको समस्या छ यो समस्या सुहाङ्ग नेम्बाङ्गले समाधान गर्ने बताए । उनले एमालेले ३ वर्षमा गरेको काम पछि विकास हुन नसकेको बताए । नेकपा एमालेले धेरै क्षेत्रमा विकासको पाइला चालेको तर बिचमा अरू सरकार आएकाले रोकिएको बताए ।

फेरि एमालेले विकासको काम अगाडि बढाउन थालेको बताए । ‘इलामबाट सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छु’, ओलीले भने । उनले सुहाङ्ग नेम्बाङ्ग सुवास नेम्बाङ्गको छोरो मात्रै नभएर देश बनाऊँ भनेर सङ्कल्प बोकेर हिँडेको युवा भएको दाबी गरे । देश बनाउन उद्देश्य र योजनासहित हिनेको वास्तविक युवा उम्मेदवार सुहाङ्ग भएको दाबी गरे ।

ओलीले भने, ‘पैसा कमाउन, बाटोको ठेक्का लिएर कमिसन खान उकाली ओराली सुहाङ्ग हिँडिरहेको छैन । समृद्ध नेपाल सुखी नेपाली बनाउने सङ्कल्प बोके हिँडेको छ । उसलाई जिताएर पठाउनुस् ।’

सांसद हुने मात्रै उद्देश्य नभएर देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार भएको बताए । उनले सांसद हुने त काम गर्ने मात्रै हो तर देश बनाउने ठुलो कुरा हो । अध्यक्ष ओलीले इलाम आउँदा आफू सधैँ सुवाससँगै आउने गरेको भए पनि अहिले सुवासको अनुपस्थितिमा उनको उद्देश्यलाई पुरा गर्ने सङ्कल्प लिएर इलाम आएको ओलीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर