पीडितको पैसा फिर्ता गरेका सहकारी सञ्चालकलाई अर्को ठगीमा प्रहरीद्वारा पक्राउ – Nepal Press

पीडितको पैसा फिर्ता गरेका सहकारी सञ्चालकलाई अर्को ठगीमा प्रहरीद्वारा पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका हाम्रो नयाँ कृषि सहकारीका तीन जना सञ्चालकले जाहेरवालालाई पैसा फिर्ता गरेका छन् । उनीहरुले ११ जना पीडितको करिब २ करोड ६० लाख रुपैयाँ फिर्ता गरेपछि छाडिएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

‘जाहेरवालाले पैसा फिर्ता पायौँ भनेर निवेदन दिएपछि सरकारी वकिलमार्फत उहाँहरुलाई छाडिएको हो’, बोगटिले भने । प्रहरीले सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नविन अछामी र सन्चालक समिती सदस्य रामहरी अधिकारीलाई पक्राउ गरेको थियो ।

सीआईबीमा सहकारी पीडितलाई मिलाएकामध्ये गुरुङ भने ललितपुर प्रहरीको हिरासतमा पुगेका छन् । सीआईबी प्रवक्ता बोगटीले पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पठाई दिनु भन्ने पत्र पठाएअनुसार जिम्मा लगाइएको जानकारी दिए ।

कल्याण उपकार सेभिङ एन्ड क्रेडिट ठगी प्रकरणमा गुरुङमाथी अनुसन्धान भइरहेको छ । गुरुङ उक्त सहकारीका अध्यक्ष हुन् । ललितपुर प्रहरी प्रवक्ता नरेश सुवेदीले ९६ जनाको जाहेरी आएको र मन्त्रालयमार्फत थप ४२ जनाको निवेदन पनि प्राप्त भएको बताए ।

‘९६ जनाको पीडितले करिब साढे १८ करोड रुपैयाँ बिगो दाबी गर्नु भएको छ । अन्य जाहेरवालाको रकम हिसाब हुन बाँकी छ । पीडितहरु अझै पनि थपिन सक्नु हुन्छ’, एसपी सुवेदीले भने । गुरुङमाथि मंगलबार अदालतबाट म्याद थप भएको छ ।

सहकारीका अन्य सन्चालकहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । गुरुङसहितका सन्चालकविरुद्ध केही महिना अगावै पक्राउ पुर्जी जारी भनि पक्राउ पर्न सकेका थिएनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर