अमेरिकीहरु नै किन छाेडिरहेछन् देश ? – Nepal Press

अमेरिकीहरु नै किन छाेडिरहेछन् देश ?

काठमाडौं । संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश, विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति र विश्वमै सबैभन्दा धेरै देशका मान्छेले जान चाहने देशहरुमध्ये प्रमुख देश । कानूनी र गैरकानूनी बाटो समाएर मान्छेले पुग्न मरिहत्तै गर्ने देश हो अमेरिका ।

यी र यस्ता गतिला पहिचान भएको अमेरिकाका नागरिकहरु भने देश छाडिरहेका छन्, छोडिरहेका छन् । युवा अमेरिकीहरुले देश छोड्ने क्रम बढेको अमेरिकी मिडिया तथा विभिन्न सर्वेक्षणहरुले लेख्न थालेका छन् ।

सामाजिक सुरक्षादेखि राजनीतिसम्म: जसले अमेरिकीलाई विदेश जान बाध्य गर्छन्

अमेरिकी मिडियाहरुका अनुसार अमेरिकीहरुले देश छोड्नुमा विभिन्न कारण छन् । कोही राम्रो सामाजिक सुरक्षा भएको देश खोजेर जान्छन्, कोही महँगी कम भएको देश । कसैले अमेरिकामा बढ्दो बन्दुक आतंक पनि कारण भनेका छन् । अमेरिका छोड्नेहरुको अर्को रोचक कारण अमेरिकी राजनीतिक तनाव पनि देखिएको छ ।

अमेरिकामा स्वास्थ्य सेवा महँगो छ । स्वास्थ्य सेवा निःशुल्क अथवा सहज भएका देशहरु पनि अमेरिकी नागरिकको विदेशमोहको एक कारण भनिएको छ । अमेरिकी जीवन जिउने खर्च अचाक्ली महँगो हुनु अमेरिका छोड्ने कारणहरुमा एक भएको देखिइएको छ । विभिन्न समयमा भएका विभिन्न सर्वेक्षणहरुले यस्तो देखाएका छन् । खासगरी अमेरिकाको नयाँ पुस्ताले अमेरिका छोड्न चाहेको त्यस्ता सर्वेक्षणहरुले पुष्टि गरेका छन् ।

अमेरिकी विश्व च्यानल सीएनएनदेखि चिनियाँ विश्व च्यानल सीजीटीएनसम्मले अमेरिकीहरुको विदेशमोहको समाचार बनाएका छन् ।

सीएनएनले सात महिना अगाडि किन अमेरिकी परिवारहरु युरोप गइरहेका छन् भनेर समाचार बनाएको थियो । जहाँ पोर्चुगलमा पचास वर्षबाट अलपत्र घर किनेर घरजम गरेर बसेका पेन्सिलभियाका एलन एन्ड्रु दम्पतीलगायतका अमेरिका छोडेर युरोपमा मुकाम बनाएका अमेरिकी नागरिकहरुको कथा भनिएको छ ।

चिनियाँ विश्व च्यानल सीजीटीएनले गतवर्ष एक सामग्री बनाएर अमेरिकीहरुको पलायनको समाचार बनाएको थियो । उसले गालोप सर्वेक्षण सन् २०२२ को उदाहरण दिएर अमेरिकाका १५ प्रतिशत नागरिकहरुले देश स्थायी रुपमा छोड्न चाहेको समाचार प्रकाशन गरेको थियो ।

अमेरिकी मिडिया सीएनबीसीले ६ महिना अगाडि यस्तै समाचार बनाएको थियो । उसले अमेरिकाबाट सन् २०१९ मा मेक्सिको सिटी पुगेर उतै बसोबास गरेकी ३३ वर्षीया अमेरिकी युवती किला मोरानको उदाहरण दिएको छ । मोरानले मेक्सिको शहरमा छरछिमेकको चिनजान र कुराकानी हुने भन्दै मनपरेको बताएकी छन् । सीएनबीसीले सन् २०१९ देखि २०२२ सम्म मेक्सिको सिटीमा बस्न चाहने अमेरिकी आवेदकको संख्या ७० प्रतिशतले बढेको उल्लेख गरेको छ ।

सीजीटीएनसँग कुरा गरेकी अमेरिकाको ओहियोबाट पाँच वर्ष अगाडि पोर्चुगल बसाइ सरेकी महिला तारा मियोले अमेरिका महिलाको लागि असुरक्षित भएको भन्दै आफू शान्ति र सुरक्षा खोज्न पोर्चुगल आएको बताएकी छन् । आफ्ना श्रीमान शिक्षक भएको भन्दै उनले अमेरिकाका विद्यालयमा बढेको गोलीकाण्डको कारण कुन दिन के हुने भन्ने डरमा काम गर्ने बाध्यता भएकोले अमेरिका छोडेको बताएकी छन् ।

उनले अमेरिकाको उदाहरण दिँदै भनेकी छन्, ‘हामीलाई एकअर्कासँग डराउन प्रोत्साहन गरिएको छ । मलाई त्यो ठीक लाग्दैन ।’

यस्तै टेक्ससबाट पोर्चुगल पुगेका अर्ल वाग्नरले आफूलाई गन बोक्नेहरुको कुरा, राजनीतिक तर्क गर्दाका जोखिम र डोनाल्ड ट्रम्प समर्थन गर्ने दक्षिणपन्थी राजनीतिक हावाको कारण टेक्सस डरभर्दाे भएकाले आफू सुरक्षित स्थानको खोजीमा एक वर्ष अगाडि पोर्चुगल आएको बताएका छन् ।

एक महिना अगाडि वान्डर अनवार्डस् नामक वेबसाइटमा अमेरिकीले देश छोड्ने १८ ‘घातक’ कारणको चर्चा गरिएको छ । अमेरिकीले देश छोड्ने १८ कारण यस्ता देखाइएको छः

  • १. गन आतंक
  • २. महँगो स्वास्थ्य सेवा
  • ३. जागिर र जीवनको असन्तुलन
  • ४. गर्भपतनलगायतका महिला मुद्दामा परम्परावादी कानून
  • ५. धान्नै नसकिने बाँच्ने खर्च
  • ६. रंगभेद र त्यसले ल्याएका अपराध
  • ७. विद्यार्थी ऋण तथा विश्वविद्यालयको महँगो शिक्षा शुल्क
  • ८. खाद्यान्न गुणस्तरमा कमजोरी
  • ९. सन्तान प्राप्तिपछि आमाबाबुलाई बिदाको राम्रो व्यवस्था नहुनु
  • १०. महँगो डाक्टरी सिफारिस शुल्क
  • ११. कार संस्कृतिले पैदल यात्रा, सार्वजनिक सवारी र दुर्घटनामा पारेको प्रभाव
  • १२. सम्पत्तिको असन्तुलित वितरण
  • १३. युरोपसँग जोडिएको शताब्दीऔं पुरानो संस्कृति
  • १४. ऐतिहासिक ठाउँहरु पुग्ने रहर
  • १५. पर्याप्त पैदल संस्कृतिको लोभ
  • १६. विदेशको यात्रामा सहजपना
  • १७. नयाँ भाषा सिक्ने चाहनाको पूर्णता
  • १८. बालबालिकाको स्वास्थ्य स्याहारको सहज प्राप्ति

आप्रवासीको देशको पहिचान मेटिने, अमेरिकी सपना फेरिने चिन्ता

अमेरिका आप्रवासीहरुको देश हो । तर, यो अब त्यस्तो नहुन सक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । उदाहरणको लागि दुई वर्ष अगाडि सन् २०२२ डिसेम्बर २३ मा एन्ड्रु भानडामले वासिङटन पोस्टमा एक सामग्री लेखे । शीर्षक थियो, ‘किन लाखौं अमेरिकी यी देशमा गइरहेका छन् ?’ उनले सामग्रीको सुरुमै भनेका थिए, ‘सीमान्तमा पुर्‍याइएका अमेरिकी आदिवासीहरुको अपवाद छाड्ने हो भने अमेरिका लामो समयदेखि आप्रवासीहरुको देश हो । तर, पटक पटक यो महसुस हुन्छ कि यो अब देश छोड्नेहरुको देश हुँदैछ ।’

उनले सन् २०२० मा मात्रै अमेरिकामा जन्मेर विदेश पुगेकाहरुको संख्या २८ लाख पुगेको लेखेका छन् । यो अमेरिकी सैनिक, पर्यटक तथा अस्थायी कामदारहरुबाहेकको आँकडा भएको उनले लेखेका छन् । विदेश गएका २८ लाखकै अमेरिकी आँकडा सत्य मान्दा पनि ३४ करोड हाराहारी जनसंख्या भएको अमेरिकाको लागियो ज्यादै ठूलो संख्या भने होइन ।

चार महिना अगाडि अमेरिकी समाचार पोर्टल एक्जिअसले पनि रोचक समाचार बनाएको थियो । समाचारको शीर्षक थियो, ‘केही अमेरिकीको लागि देश छोड्नु नै अमेरिकी सपना हो ।’ परम्परागत मिडियामा मात्रै होइन, नयाँ मिडियाका सामग्रीमा पनि अमेरिकीहरुको देश छोड्ने लर्कोको चर्चा हुन थालेको छ । त्यसको पछिल्लो उदाहरण हो अमेरिकी युट्बुर साइरस जेन्सेनले बनाएको सामग्री । केही दिन अगाडि उनले पोस्ट गरेको ४१ मिनेट ५० सकेण्डको सामग्रीको शीर्षक छ, ‘अमेरिका छोड्नु नै किन नयाँ अमेरिकी सपना भइरहेको छ ?’ उनले सामग्रीमा सन् १९९५ देखि २०१० सम्म जन्मेका अर्थात ‘जेनेरेसन जेड’को आधा हिस्सा अमेरिका छोडेर विदेश पलायनको सोचमा भएको एक सर्वेको आँकडा दिएर प्रस्तुत गरेका छन् ।

जापानदेखि जर्मनीसम्म: जहाँ जान चाहन्छन् अमेरिकी

अमेरिकी नागरिकहरुले देशको पासपोर्ट अन्त्य गरेर वा स्वदेश बसाइ अन्त्य गरेर जान चाहने प्रमुख देशहरु सबैजसो अमेरिकी महादेश बाहिरका छन् । उत्तर अमेरिकी महादेशबाट क्यानडा छ । दक्षिण अमेरिकाका कुनै देश अमेरिकीहरु जान इच्छुक छैनन् ।

चार महिना अमेरिकी मिडिया सीएनबीसीमा लेखिएको सामग्रीअनुसार अमेरिकीहरुले देश छोडेर जान चाहनेमा अंग्रेजी बोल्न सहज हुनेदेखि सामाजिक सुरक्षा तथा घमाइलो ठाउँहरु छन् । एसियामा जापान र सिंगापुर उनीहरुको रोजाइमा छन् । बाँकी सबै सात देश युरोपका छन् । अमेरिकी जान चाहने युरोपका देशहरुमा बेलायत, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, इटाली, जर्मनी, अस्ट्रिया र आयरल्याण्ड छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर