विश्व नम्बर एक बलरपछि विस्फोटक ब्याटसम्यान बनेका सुनिल नरिन के विश्वकपमा फर्कंदैछन् ? – Nepal Press

विश्व नम्बर एक बलरपछि विस्फोटक ब्याटसम्यान बनेका सुनिल नरिन के विश्वकपमा फर्कंदैछन् ?

नयाँ दिल्ली । सुनिल नरिन इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शतक प्रहार गर्ने र एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)का नरिनले राजस्थान रोयल्सविरुद्ध १०९ रन बनाए ।

आईपीएल इतिहासमा नरिनको यो पहिलो शतक थियो । नरिनले ५६ बलमा ६ छक्का र १३ चौका प्रहार गरेका थिए । उनले सन् २०१२ को आईपीएल संस्करणमा किङ्स इलेभेन पन्जावविरुद्ध भएको खेलमा १९ रन खर्चिएर ५ विकेट लिएका थिए ।

मंगलबार केकेआरविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले जीत हात पारेको थियो । टोलीले हार व्यहोरे पनि नरिनले बलिङतर्फ ४ ओभरमा ३० रन खर्चिएर २ विकेट हात पारेका थिए । क्रिकेट इतिहासमा एकै खेलमा शतक प्रहार गर्ने र एकभन्दा बढी विकेट लिने नरिन तेस्रो खेलाडी बनेका छन्, क्रिस गेल र सेन वाट्सनसपछि ।

नरिनले यो सिजन आईपीएलमा ६ खेल खेल्ने क्रममा एक शतक र एक अर्धशतक बनाएका छन् । उनको कुल रन २७६ रहेको छ ।
उनी तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । स्ट्राइक रेट १८७.७५ छ । उनले यी खेलमा ७ विकेट हात पारेका छन्, ६.८७ को इकोनोमीसहित ।

आईपीएलका पछिल्ला केही सिजन नरिनका लागि उल्लेख्य रहेन । ब्याटिङतर्फ अघिल्ला कुनै पनि तीन सिजनभर १०० रन कटाउन सकेका थिएनन् । ती तीन सिजनमा उनले कुल २७ विकेट लिएका थिए ।

३५ वर्षे अफ स्पिनर तथा बायाँ हाते ब्याट्सम्यान नरिनले गत नोभेम्बरमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । तर, पछिल्लो उनको लयले आसन्न टी-२० विश्वकपमा नरिनको पुनरागमनबारे पनि चर्चा हुन थालेको छ ।

‘हेरौं भविष्यमा के हुन्छ’, मंगलबार राजस्थानविरुद्ध भएको प्रदर्शनपछि सन्न्यासबारे पुनर्विचार गर्नुहुन्छ भन्ने प्रश्नमा नरिनको जवाफ थियो । नरिनलाई सन् २०२१ मा आयोजित विश्वकपमा भने वेस्ट इन्डिजले टोलीमा समावेश गरेको थिएन । सन् २०१२ मा वेस्ट इन्डिज पहिलो पटक टी-२० विश्व विजेता बन्दा नरिन टोलीमा थिए । त्यसको चार वर्षपछि वेस्ट इन्डिज पुनः विश्व विजेता बनेको थियो ।

नरिन कुनै समयका विश्व नम्बर एक बलर हुन् । उनी सन् २०१४ मा टी-२० अन्तर्राष्ट्रियको बलर वरियतामा पहिलो नम्बरमा पुगेका थिए । त्यसै वर्ष उनले क्यारेबियन प्रिमियर लिगको एक खेलमा सुपर ओभर मेडन फ्याँकेर इतिहास रचेका थिए । तर, पछिल्ला वर्षहरुमा उनी विस्फोटक ब्याट्सम्यानको छवि बनाइरहेका छन् । उनलाई केकेआरले यो सिजन नियमित रुपमा ओपनिङमै पठाइरहेको छ ।

आईपीएलमा नरिनले १६८ खेल खेल्दै १०२ इनिङ ब्याटिङ गर्ने क्रममा एक हजार ३२२ रन जोडेका छन् । यसमा ५ अर्धशतक पनि समावेश छ । यस्तै १७० विकेट हात पारेका छन् । उनी आईपीएलको सर्वकालीन सर्वाधिक विकेट लिने बलरको सूचीमा आठौं स्थानमा छन् ।

नरिनले सन् २०१२ मा आईपीएलमा डेब्यु गरेका थिए । उनी सुरुवातदेखि ने केकेआरका लागि आईपीएल खेलिरहेका छन् । वेस्ट इन्डिजको टी-२० टोलीका कप्तान रोवमन पावेलले नरिनलाई सन्न्यास फिर्ता गर्न दबाब दिए पनि उनले कसैलाई नसुनेको बताएका छन् ।

‘पछिल्ला १२ महिनायता नारिनको कानमा म कुराहरु पुर्‍याइरहेको छु । तर, उनले ती सबैलाई अस्वीकार गरेका छन् । पोलार्ड, ब्राभो र पुरनले प्रयास गरे पनि त्यो सफल हुन सकेन । विश्वकपमा टोली छनोट गर्नुअघि उनलाई मनाउँछन् भन्ने लागेको छ’, मंगलबार कोलकाताविरुद्ध १३ बलमा २६ रन जोडेका पावेलले भनेका छन् ।

पावेललाई नरिनले नै आउट गरेका थिए । नरिनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेल खेल्दै ५२ विकेट लिएका छन् जसमा इकोनोमी ६.०१ रहेको छ । ब्याटिङतर्फ १५५ रन जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *