डकेन्द्रको घरदैलोमा सुनिता र एकदेवको ‘मिनी कन्सर्ट’ – Nepal Press
इलाम २ उपचुनावः उम्मेदवारको घरदैलो

डकेन्द्रको घरदैलोमा सुनिता र एकदेवको ‘मिनी कन्सर्ट’

इलाम । सुनिता थेगिम अहिलेकी चलेकी गायिका हुन् । नेपाली लोक आधुनिक पारामा गीत गाउने थेगिमका थुप्रै गीत हिट छन् । उनको गीत बिनायो कङ्कङ, कालो केशमा रेलिमाई, चिलिम ढुङ्गो टल्कियो सेतै हिउँले बोलका गीत वर्षकै हिट गीत मध्येमा पर्छन् ।

यति मात्रै होइन उनले गाएका थुप्रै लिम्बु भाषाका गीतहरू पनि सर्वसाधारणको जिब्रोमा झुन्डिएका छन् । नेपाली साङ्गीतिक क्षेत्रकी हिट गाइका सुनिता थेगिम चार दिन अघि माङ्सेवुङ्ग गाउँपालिका पञ्चमी बजारमा भेटिइन् ।

नेपालको झन्डा ओडेकी थेगिमले सुरुमा आफ्नै बहुचर्चित गीत ‘बिनायो कङ घुम्न जाऊँ कान्छा मलाय हङ्कङ्ग’ गाइन् । उनले गीत गाउन थालेपछि नजिकै रहेका सर्वसाधारण उनी भएतिर आए ।

सर्वसाधारणलाई आफूसँगै गीत गाउन थेगिमले उक्साइन् । त्यसपछि भेला भएका सर्वसाधारणले थेगिमसँगै सोही गीत गाउन थाले । उनले सर्वसाधारणलाई गीत गाउन उक्साएपछि नाच्न थालिन् । थेगिमसँगै युवा युवती पनि नाच्न थाले । सर्वसाधारण बिनायो कङ्कङ्ग’को लयमा नाच्न थालेपछि थेगिमले गीतकै लयमा,‘ भनिन् भोट के मा ? मुडामा’ । उनीसँगै सहभागीले भोट मुडामा भन्दै नारा लगाए ।

इलाम स्थायी घर भएकी थेगिम कुनै सांस्कृतिक कार्यक्रममा गीत गाउन पञ्चमी आएकी थिइनन् । नत त्यहाँ कुनै कन्सर्ट नै थियो । उनी त इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा पहिचान पक्षधरको तर्फबाट साझा उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमको चुनावी घरदैलो कार्यक्रममा सहभागी हुन आएकी थिइन् ।

एक दशकदेखि नेपाली गीत सङ्गीतको क्षेत्रमा लागेकी थेगिममा बुवा डकेन्द्र सिंह थेगिम यस पटक इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा उम्मेदवार बनेका छन् । थेगिम आफ्ना बुबालाई सघाउन र उनको प्रचारमा अहिले इलाम क्षेत्र नम्बर २ को गाउँ टोलमा हिँडिरहेकी छन् ।

उनले इलाम क्षेत्र नम्बर २ मा डकेन्द्रको चुनावी कार्यक्रमहरूमा नेपाली र लिम्वूभाषमा गीत गाउने गर्छिन् । उनको गीत सुन्न र उनलाई हेर्न टाढा टाढाबाट युवा युवतीहरू आउने डकेन्द्रको चुनावी घरदैलो कार्यक्रममा आउने गरेका छन् ।

सुनिता थेगिमसँगै अहिलेका युवा पुस्ताका चर्चित गायक एकदेव लिम्बु पनि डकेन्द्रको घरदैलो कार्यक्रममा छन् । लिम्बु डकेन्द्रका जेठा छोरा हुन् । लिम्बुको ‘चल्यो हावा मनै सिरिरि मनै उडाउन’ बोलको गीत युवाहरूका माझ लोकप्रिय छ ।

पप आधुनिक शैलीमा गीत गाउने एकदेव चुनावी घरदैलो र कोण सभा कार्यक्रममा बुवासँगै भोट माग्दै हिँडिरहेका छन् । उनले दुई दिन अघि इलाम बजारमा बुवालाई भोट माग्दै आफ्ना चर्चित गीतहरू गाए । यति मात्रै होइन उनले मददाता समक्ष भोट माग्दै हिँडेको भिडियो समेत आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले माङ्सेबुङ्गको चतुरे बजारमा भेला भएका युवा युवतीहरूलाई आफ्ना बुवाले चुनाव हारे देशले हार्ने र संस्कृतिले हार्ने बताएको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल छ ।

प्रदेशको नामकरण सँगै सुरु भएको पहिचानको आन्दोलनको नेतृत्व गरेका थेगिम पूर्व शिक्षक हुन् । थेगिमले ०४३ सालदेखि ०६२ सालसम्म सिंहदेवी मावि आम चोक इलाममा अङ्ग्रेजी विषय पढाए । केही समय सोही विद्यालयका प्रधानाध्यापक समेत भएका थेगिमले ०६३ देखि ०७२ सम्म फाकफोक स्रोत केन्द्र र गजुरमुखी स्रोत केन्द्रमा स्रोत व्यक्तिका रूपमा काम गरे । जागिरे जीवनबाट अवकाश पाएपछि उनले धार्मिक, आध्यात्मिक एवं साहित्यिक क्षेत्रमा काम गर्न थाले ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनबाट दीक्षित भएका थेगिम आफूलाई लिङ्देनको असली चेलो भएको बताउँछन् । मतदाता समक्ष जाँदा उनले भन्ने गरेका छन्, ‘हामी सङ्घीयताको कार्यान्वयन र पहिचानको मुद्दा स्थापित गराउन चुनावी मैदानमा होमिएका हौ ।’

उनले चुनावी घर दैलोमा पुग्दा इलाबाट नयाँ सन्देश दिन आफूलाई भोट दिन आग्रह गर्ने गरेका छन् । ‘म कुनै पार्टीमा छैन । पार्टीहरूले देश बनाउन सकेनन् । उनीहरूलाई सही बाटोमा हिँडाउन यो चुनावले सन्देश दिन पर्छ ।’ उनले मतदाता समक्ष यस्तै आग्रह गर्छन् । थेगिमले आफूलाई धर्मगुरुले महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउँछन् ।

उनले आफू कुनै पार्टीमा नभएको बताए पनि उनी एमालेका सङ्गठित सदस्यको रूपमा काम गरेका छन् । निर्वाचनमा उम्मेदवार हुनु भन्दा थेगिमले केही हप्ता अगाडि मात्रै उनले एमालेको सङ्गठित सदस्य त्यागेको घोषणा गरेका थिए । किराँत भाषा उत्थान सङ्घका अध्यक्ष भएर किराँत धर्म र संस्कृतिक क्षेत्रमा काम गरेका उनलाई धरानका मेयर हर्क साम्पाङ्गले समेत आफ्नो उम्मेदवारको रूपमा अगाडि सारेका छन् । थेगिमको चुनावी सभामा साम्पाङ्ग समेत पुग्ने गरेका छन् ।

इलाम क्षेत्र नम्बर–२ मा फाकफोकथुम, मासेबुङ र चुलाचुलीहित तीन वटा गाउँपालिका समेटिएका छन् । यस्तै देउमाई नगरपालिकाको सबै वडा इलाम नगरपालिकाको १० वटा वडा र माई नगरपालिकाका वडा नम्बर ६, ७ र ८ वडा मात्रै यो क्षेत्रमा पर्छ ।

यीमध्ये ०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमत अर्थात् २२ वटा वडामा जित निकालेको थियो भने एमालेले १७ वडा जितेको थियो । माओवादी, जनमुक्ति र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) ले एक– एक वटा वडाहरू जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर