टुट्यो सुदूरपश्चिममा वैकल्पिक गठबन्धन, कांग्रेस र रेशम चौधरीको प्रयास असफल – Nepal Press

टुट्यो सुदूरपश्चिममा वैकल्पिक गठबन्धन, कांग्रेस र रेशम चौधरीको प्रयास असफल

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीले गरेको वैकल्पिक गठबन्धन निर्माणको प्रयास करिब असफल भएको छ ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समर्थनमा सुदूरपश्चिममा वैकल्पिक गठबन्धन अगाडि बढेको थियो । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि प्रदेशमा कांग्रेससहितका दलहरूसँग सहकार्यको प्रयास गरेको थियो ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीका सांसद लिएर नाउपाका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए भने, एमाले माओवादी र रन्जिता पक्षका सांसदहरूको समर्थनमा नाउपाका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यी दुबै दाबी मङ्गलवार प्रदेश प्रमुखले खारेज गरेर नयाँ दाबी आह्वान गरेका छन् ।

पहिलो चरणमा दुबै दाबी खारेज भएपछि अब दोस्रो चरणको लागि वैकल्पिक गठबन्धनबाट दाबी नहुने सम्भावना रहेको बताइएको छ । वैकल्पिक गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले हिजै प्रदेश प्रमुख नजिर मियाँ समक्ष लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता दिएको पत्र बुझाएर प्रदेशमा वैकल्पिक गठबन्धन नरहेको सङ्केत गरेका थिए ।

सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश पहिले नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरेर अन्तिममा नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति गरेपछि नेकपा एकीकृत समाजवादी बिच्किएको थियो । पहिलेको समझदारी कार्यान्वयन भएको भन्दै प्रदेशमा काङ्ग्रेससँग मिलेर सरकार बनाउने प्रयास नेकपा एकीकृत समाजवादीले गर्‍यो ।

तर मङ्गलवार माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नाउपा अध्यक्ष रन्जिता श्रेष्ठबीच पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरेसँगै प्रदेशमा वैकल्पिक गठबन्धन निर्माणको प्रयास असफल भएको हो ।

प्रचण्ड, खनाल र श्रेष्ठबीच बालुवाटारमा भएको छलफलपछि सुदूरपश्चिममा गठबन्धनमा आबद्ध एमाले, माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता र स्वतन्त्र सांसदको बैठक बसेको थियो ।

उक्त बैठकले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी गरेपछि दीर्घ सोडारीले लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका थिए । नयाँ सहमतिअनुसार गठबन्धनबाट एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नेछन् ।

मङ्गलवार साँझसम्म पनि मुख्यमन्त्री कमल बहादुर शाहको निवासमा कांग्रेस र नाउपाका नेता रेशम चौधरीबीच यस विषयमा संवाद भइरहेको थियो । रेशम चौधरीसँग उनी पक्षका पाँच सांसद पनि सँगै थिए । उनीहरुबीच आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा पाउनै लागेको मुख्यमन्त्री रेशम चौधरीले कांग्रेसको साथ नछोड्दा गुमाउनु परेको नाउपाका नेताहरूले आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर