आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै – Nepal Press

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।”

राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको त्यहाँबाट हाम्रा समाचारदाताले जनाएका छन् । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ ।

उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उन‍लाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर