प्रदेशसभाभित्रै मधेशका मुख्यमन्त्री यादवमाथि माइक प्रहार, कांग्रेस सांसदको औंलामा चाेट (भिडिओ) – Nepal Press

प्रदेशसभाभित्रै मधेशका मुख्यमन्त्री यादवमाथि माइक प्रहार, कांग्रेस सांसदको औंलामा चाेट (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशसभामा मुख्यमन्त्री सरोजकुमार यादवलाई लक्षित गरी प्रतिपक्षी दलका सांसदले माइक प्रहार गरेका छन् ।

राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजिनामा माग्दै जमनत पार्टीका सांसदहरुले प्रदेशसभाभित्रै प्रदर्शन गरेका थिए । जनमतको मागमा नेपाली कांग्रेस र लोसपाका सांसदहरुले पनि समर्थन गरेका छन् ।

वेल घेराउ गरी जनमतका सांसदहरुले प्रदर्शन गर्दागर्दै सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । प्रदर्शन छल्दै मुख्यमन्त्री यादव रोस्टममा गएका थिए । त्यसबेला जनमतका सांसदहरु उनलाई नियन्त्रणमा लिन खोजेका थिए । तर, छलेर रोस्टम पुगेका मुख्यमन्त्रीले प्रस्ताव प्रस्तुत गरे ।

त्यसपछि जनमत र कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका थिए । उनीहरुले माइक फाले । एक सांसदले मुख्यमन्त्री यादवलाई लक्षित गरी माइक प्रहार गरे । तर, मुख्यमन्त्रीलाई लागेन ।

सांसदहरुले टेबल र कुर्सीसमेत तोडफोड गर्न थालेपछि मुख्यमन्त्री यादव प्रस्ताव पेश गर्नबाट ब्याक भए । त्यसपछि सभामुख मण्डलले दोस्रो पटक १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

तोडफोडका क्रममा नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंहको औंला काटिएको बताइएको छ । एक सांसदले नेपाल प्रेससँग भने, ‘वीरेन्द्रजीको एउटा औंलामा चोट लागेको छ ।’

स्रोतका अनुसार मुख्यमन्त्री यादवले जसरी पनि आजै विश्वासको मत लिने तयारी गरेका छन् । सुरक्षाकर्मीहरुले प्रदेशसभा परिसरबाट सांसदबाहेकलाई खाली गराइरहेका छन् ।


प्रतिक्रिया

One thought on “प्रदेशसभाभित्रै मधेशका मुख्यमन्त्री यादवमाथि माइक प्रहार, कांग्रेस सांसदको औंलामा चाेट (भिडिओ)

  1. सत्ताबाट हटेपछि काँग्रेस कस्तो हुँदोरहेछ देखिदैछ । लुटन बानी परेका लुटन नपाएपछि तिलमिलाएछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर