सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन गर्न इकाइ गठन – Nepal Press

सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन गर्न इकाइ गठन

काठमाडौं । सामाजिक सञ्जालबाट हुने आचारसंहिता उल्लंघन अनुगमन गर्न निर्वाचन आयोगले सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरेको छ । आचारसंहिता उल्लंघनकर्तालाई आवश्यक कारबाहीको लागि आयोगसमक्ष सिफारिस गर्न इकाइ गठन गरिएको हो ।

सामाजिक सञ्जालबाट कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने काम इकाइले गर्ने आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन आचारसंहिताको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी आचारसंहिताविपरीतको कुनै कार्य भए गरेमा तत्काल कारबाही गर्न आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झूटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पर्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानूनबमोजिम आवश्यक कारबाहीको लागि प्रेस काउन्सिललाई पत्राचार गर्ने निर्णय गरेको छ ।

यस्तै सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा निर्वाचन आचारसंहिता उल्लंघनकर्तालाई तत्काल आवश्यक कारबाही गर्न सम्वन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

निर्वाचन आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा खाता सञ्चालन गर्न वा झूटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने व्यवस्था छ । त्यस्तै निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्चाउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न गराउने नहुने व्यवस्था रहेको छ ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न गराउन नहुने तथा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लान्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन पूर्ण रुपमा निषेध गरिएको छ ।

जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यको रिक्त पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता गत चैत २८ गतेदेखि लागू भइसकको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर