आरसीबीलाई अर्को खेलाडी प्रतिस्थापन गर्न भन्दै म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम – Nepal Press

आरसीबीलाई अर्को खेलाडी प्रतिस्थापन गर्न भन्दै म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम

खराब फर्मबाट गुज्रिरहेका म्याक्सवेल भन्छन्, ‘मलाई शारीरिक र मानसिक विश्राम चाहिएको छ, पछि आवश्यक पर्‍यो भने खेल्न पनि सक्छु’

काठमाडौं । अष्ट्रेलियन सुपरस्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेलले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) बाट अनिश्चित समयका लागि विश्राम लिएका छन् । उनी आइपीएलमा खराब फर्मबाट गुज्रिरहेका थिए ।

रोयल च्यालेञ्जर्स बैंगलोर (आरसीबी) बाट खेलिरहेका म्याक्सवेल हिजो सनराजर्स हैदरावादविरुद्धको म्याचमा थिएनन् । उनले आफूलाई शारीरिक र मानसिक पुनर्ताजगी चाहिएको भन्दै विश्राम लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आइपीएल २०२४ मा म्याक्सवेल रन बनाउन संघर्ष गरिरहेका थिए । उनले ६ वटा म्याच खेल्दा ५.३३ को दयनीय औसतमा ३२ रन मात्रै जोडेका छन् । हिजो उनले आफ्नो बुढी औंलामा लागेको चोटका कारण हैदरावादविरुद्ध नखेलेको अनुमान थियो । तर, यथार्थ त्यस्तो थिएन ।

म्याक्सवेललाई उद्धृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘व्यक्तिगतरुपमा मलाई यो एउटा सरल निर्णय थियो । आरसीबीको पछिल्लो हारपछि मैले फाफ (कप्तान फाफ डुप्लेसिस) र प्रशिक्षकहरूलाई भेटेँ र भनेँ कि तपाईँहरू अरू कसैलाई ट्राई गर्नुस् । मैले विगतमा पनि यस्तो परिस्थितिको सामना गरेको थिएँ, जहाँ तपाईँ खेलिरहनुहुन्छ र आफूलाई गहिरो खाडलमा पाउनुहुन्छ । मलाई मानसिक र शारीरिक विश्राम चाहिएको महसुस भइरहेको छ ताकि म आफ्नो शरीरलाई दुरुस्त बनाउन सकूँ । यदि टुर्नामेन्टकै बीचमा मेरो आवश्यकता पर्‍यो भने बलियो मनोबल र शारीरिक पुनर्ताजगीका साथ फर्किन पनि सक्छु ।’

‘हाम्रो टिममा पावरप्ले लगत्तै ठूलो रिक्तता देखिएको छ, जुन पछिल्ला केही सिजनहरूमा मेरो बलियो पक्ष थियो । मलाई महसुस भएको छ कि मैले ब्याटबाट सकारात्मकरुपमा योगदान गर्न सकिरहेको छैन । त्यसैले मेरो ठाउँमा अर्को खेलाडीलाई अवसर दिनका लागि यो उपयुक्त अवसर हो भन्ने लागेको छ । आशा गर्छु कि अरू कसैले मेरो रिक्तता पूर्ति गरिदेवस् ।’

आइपीएलमा आउनुअघि म्याक्सवेल शानदार फर्ममा थिए । उनले नोभेम्बरयता खेलेका १७ खेलमा ४२.४६ को औसत तथा १८५.८५ को स्ट्राइक रेटमा ५५२ रन बनाएका थिए । यो अवधिमा उनले दुईवटा टी-२० शतक पनि प्रहार गरे । तर, आइपीएलमा उनको फर्म एकाएक धराशायी बन्यो ।

पहिलो म्याचमा चेन्नइ सुपरकिङ्सवरिुद्ध पहिलो बलमै आउट भएपछि म्याक्सवेल थप दुईवटा म्याचमा डक आउट भएका छन् । एउटा खेलमा मात्रै उनले ५ भन्दा बढी बलको सामना गर्न सके । कोलकत्ता नाइट्स राइडरविरुद्ध उनले १९ बलमा २८ रन हान्दा दुईपटक जीवनदान पाएका थिए ।

थप एउटा खेलमा प्रयास गरेको भए हुन्थ्यो कि भनेर सोधिएको प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘मैले हिजोको खेलमा नोटिस गरेको थिएँ कि अघिल्ला म्याचहरुमा जस्तो पावरप्लेमा पिच त्यति स्लो र दुई पेसको थिएन । त्यसपछि मलाई महसुस भयो कि सायद मैले यो गेम मिस नगर्नुपर्थ्यो । हिजो मैले ब्याटिङ गरेको भए हुन्थ्यो । तर, म अहिले शारीरिक मात्र नभएर मानसिक विश्रामको मुडमा छु ।’

म्याक्सवेलले २०२० को आइपीएल सम्झिरहेका हुन सक्छन् । त्यसबेला पञ्जाब ११ बाट खेलेका उनले ११ इनिङमा १०८ रन मात्रै हानेका थिए, त्यो पन १०१.८८ को न्यून स्ट्राइक रेटमा ।

आइपीएलको त्यो सिजनमा उनको ब्याटबाट एउटा पनि छक्का निस्केको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *