उपनिर्वाचनको मतपत्र सार्वजनिक, हरेक निर्वाचनमा पहिलो नम्बरमा किन हुन्छ सूर्य चिन्ह ? – Nepal Press

उपनिर्वाचनको मतपत्र सार्वजनिक, हरेक निर्वाचनमा पहिलो नम्बरमा किन हुन्छ सूर्य चिन्ह ?

काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो ।

सार्वजनिक मत्रपत्रअनुसार १९ वटा निर्वाचन चिन्ह रहेका इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ११ वटा निर्वाचन चिन्ह रहेको बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह रहेको छ ।

मतपत्रमा चुनाव चिह्नको रोलक्रम २०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए ।

उनका अनुसार २०७९ को निर्वाचनमा समानुपातिकतर्फ सहभागी नभएका दलको हकमा भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता भएको क्रमका आधारमा भएको छ ।

त्यसैकारण २०७९ को समानुपातिक निर्वाचन प्रणालीमा सबैभन्दा बढी मत नेकपा एमालेले प्राप्त गरेका कारण उक्त दलको सूर्य निर्वाचन चिन्ह पहिलो नम्बरमा रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । आयोगको यो निर्णयअनुसार मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी रहेको छ ।

बझाङको प्रदेशसभा सदस्य निर्वाचनको हकमा पनि पहिलोमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा गोलाकारभित्र हँसिया र हथौडा रहेको छ । यहाँ चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो रहेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

निर्वाचनसम्बन्धी कानूनले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा राजनीतिक दलको हकमा ठीक अघिल्लो प्रतिनिधिसभा निर्वाचन तथा प्रदेशसभा निर्वाचनमा देशभरको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा निर्वाचन चिन्ह क्रमशः राखिन्छ । प्रदेशसभाको हकमा पनि हरेक प्रदेशको समानुपतिकतर्फ राजनीतिक दलले प्राप्त गरेको मतको आधारमा नै निर्वाचन चिन्ह क्रमशः राखिन्छ ।

यदि यसअघिको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा कुनै दल सहभागी भएको छैन भने समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका दलभन्दा पछि उक्त दललाई निर्वाचन आयोगमा दल दर्ता भएको क्रम संख्याका आधारमा निर्वाचन चिन्ह राखिन्छ । त्यसपछि स्वतन्त्र उम्मेदवारको हकमा भने उसको नामको नेपाली वर्णानुक्रमका आधारमा निर्वाचन चिन्ह राखिन्छ । यो व्यवस्था नेपालको संविधान जारी भएपछि बनेका निर्वाचनसम्बन्धी कानूनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर