नेपालमा मिस्टर बिस्टको ‘सेक्रेट मिसन’ – Nepal Press

नेपालमा मिस्टर बिस्टको ‘सेक्रेट मिसन’

सिन्धुलीको अस्पतालमा सोलार जोडिदिए, भिडिओमा अतिरञ्जित प्रचार

काठमाडौं । सर्वाधिक सब्स्क्राइबर भएका विश्वचर्चित युट्यूबर मिस्टर बिस्टले सिन्धुलीको फिक्कलमा रहेको एउटा अस्पताललाई सोलार बत्तीले झिलीमिली बनाइदिएका छन् । निर्माणाधीन अस्पतालमा ११ किलोवाटको सोलार जडान गरिएको ‘बिस्ट फिल्यान्थ्रोपी’ नामक युट्यूब च्यानलमा अपलोड गरेको भिडिओमा उल्लेख गरिएको छ ।

हिजो अपलोड गरिएको भिडियोले उक्त अस्पतालमा पुगेर मिस्टर बिस्टको टिमले के कसरी काम गरेको थियो भन्ने वर्णन गर्छ । विद्युतको पहुँच नभएकाले राम्रो उपचार नपाउँदा यस ठाउँका मानिसहरु अकालमा मरिरहेको तथा महिलाहरुको गर्भ खेर गइरहेको पृष्ठभूमि देखाइएको छ ।

मिस्टर बिस्टको २०२३ को डिसेम्बरमा बिस्टको टीम ‘सिक्रेट मिसन’ मा नेपाल आएको थियो । के कामका लागि नेपाल आएको भन्ने कुरालाई गोप्य राखिएको थियो । त्यसबेलादेखि गरेको कामलाई आइतबार भिडिओ बनाएर खुलासा गरिएको हो । मिस्टर बिस्टको टिमले ‘गिभ पावर’ नामक संस्थासँगको सहकार्यमा सोलान जडान गरेको हो ।

सोलान जडान भएर बत्ति बलेको हेर्न गाउँलेहरु जम्मा भएका थिए । उक्त दृष्य पनि भिडियोमा समेटिएको छ । पहिलोपटक अस्पतालमा बत्तिबलमा स्थानीय जनताहरु हर्षित बनेका थिए ।

यद्यपि, भिडियोमा केही अतिरञ्जना पनि गरिएको छ । मिस्टर बिस्टको टिमले बनिसकेको अस्पताल भवनमा सोलार जडान गरिदिएको थियो । तर, भिडियोमा अधुरो अस्पताल निर्माणमा सहयोग गरेको आशय पेश गरिएको छ । यदि आफूहरुले काम नगरेको भए यो अस्पतालमा वर्षौंसम्म विजुली नपुग्ने दावी पनि गरिएको छ । गाउँको विकटता र दुरावस्थालाई बढाइचढाइ गरेर प्रस्तुत गरिएको पनि देखिन्छ ।

यो अस्पताल नेपाल सरकारको पूर्ण लगानीमा निर्माण भएको हो । फिक्कल गाउँपालीका वडा नम्बर ३ चनौटेमा बनेको अस्पताल गत पुस महिनामा ठेकेदारले गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

२०७६/७७ सालमा नेपाल सरकारको बजेटमा परेपछि २०७८ सालको मंसिरबाट काम सुरु भएको हो । दुई वर्षमा कम सम्पन्न गर्नेगरी आशीर्वाद निर्माण सेवा उदयपुरले ठेक्का पाएको थियो । सम्झौता गरेकै समयभित्रै २०८० पुस ३० गते ठेकेदारले हस्पिटलको काम सम्पन्न गरेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए ।

५ करोड ४७ लाख ८२ हजार १५२ रुपैयाँ कूल लागतमा अस्पताल भवन निर्माण भएको हो ।

उपाध्यक्ष बरालले भने, ‘फिक्कल आधारभुत अस्पतालको पूर्ण लगानी र काम सबै नेपाल सरकारद्वारा भएको हो । यसमा १० किलोवाटको सोलार सिस्टम मात्रै विदेशी संस्थाले अनुदानस्वरुप दिएको हो ।’
१० वेड क्षमताको अस्पतालमा पोस्टमाटम गर्ने सुविधासमेत रहेको उनको भनाइ छ ।

को हुन् मिस्टर बिस्ट ?

२५ वर्षिय मिस्टर बिस्ट अमेरिकन युट्यूबर हुन् । उनको वास्तविक नाम जेम्स स्टेफन डोनाल्डसन हो । युट्यूबमा उनका २५ करोडभन्दा बढी सब्स्क्राइबर्स छन् । उनी सामाजिक कामहरुमा पनि सक्रिय रहने गर्छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर