कोशीमा एमाले-माओवादीको संकल्प प्रस्ताव: मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा गर्नुपर्ने – Nepal Press

कोशीमा एमाले-माओवादीको संकल्प प्रस्ताव: मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा गर्नुपर्ने

विराटनगर । कोशी प्रदेशसभामा ८ बुँदे सङ्कल्प प्रस्ताव पेस भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको सङ्कल्प प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।

सङ्कल्प प्रस्तावमा बैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख छ । वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने व्यहोरा पनि संकल्प प्रस्तावमा उल्लेख छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बैशाख ६ गतेलाई कोशी प्रदेशसभा बैठक बोलाएका छन् । सभा बस्नुअघि एमाले र माओवादीले सङ्कल्प प्रस्ताव संसद सचिवालयमा पेस गरेका हुन् ।

यी हुन् सङ्कल्प प्रस्तावका मुख्य निर्देशन

क) माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी माननीय मन्त्रीहरुले राजीनामा दिइ सरकारबाट फिर्ता भैसकेको र बहुमत प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा २०८१ साल बैशाख २५ गतेभित्रमा माननीय प्रदेश प्रमुखज्यू मार्फत प्रदेशसभाको आह्वान गराई संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन प्रदेशसभाको यो बैठक माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गर्दछ ।

ख) बहुमत सदस्यको विश्वास गुमाई अल्पमतमा परिसकेको कोशी प्रदेश सरकारका मुख्यमन्त्रीज्यूले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त नगरुञ्जेल दीर्घकालीन असर पर्ने प्रकृतिका नीतिगत तथा कार्यक्रमिक निर्णय एवं गैरबजेटरी शीर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन माननीय मुख्यमन्त्रीज्यू तथा मन्त्रिपरिषद्, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र प्रदेश सरकारका मन्त्रालयका सचिवज्यूहरु समेतलाई प्रदेशसभाको यो बैठक निर्देशन जारी गर्दछ ।

ग) माननीय मुख्यमन्त्रीज्यूले २०८१ साल बैशाख २५ गतेसम्म यदि विश्वासको मत पनि लिनुभएन वा वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त पनि गर्नुभएन भने सोपछिका दिनमा प्रमुख सचिव र अन्य मन्त्रालयका सचिवज्यूहरुले मन्त्रिपरिषद् मुख्यमन्त्री वा मन्त्रीज्यूहरुको कुनै पनि निर्णय वा निर्देशन कार्यान्वयन गर्न गराउन बाध्य नहुने व्यहोरासमेत यो प्रदेशसभा निर्देशन गर्दछ ।

घ) २०८१ साल बैशाख २५ गते प्रदेशसभाबाट विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा वा वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा माननीय प्रदेश प्रमुखज्यूबाट संविधानको धारा १६८ को कुनै उपयुक्त उपधारा प्रयोग गरी नयाँ वैकल्पिक सरकार गठनका लागि संवैधानिक र कानूनी प्रक्रिया स्वाभाविकै ढंगले अगाडि बढ्न उपयुक्त हुने प्रदेशसभाको यो बैठक माननीय प्रदेश प्रमुखज्यूसमक्ष सन्देश प्रवाह गर्दछ ।

ङ) कोशी प्रदेशसभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमाले कोशी प्रदेश संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै उहाँको नेतृत्वमा नयाँ वैकल्पिक सरकार गठन गर्न यो प्रदेशसभा सक्षम रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।

च) उपयुक्त संकल्प प्रस्ताव कोशी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन)समेतको नियम ७० को उपनियम (१) खण्ड (ग) का साथै संविधानको धारा १८७ को उपधारा (२) बमोजिमको अधिकार प्रयोग गरी प्रदेशसभाको यो बैठकले पारित गरेको घोषणा गर्दछ ।

छ) कोशी प्रदेशसभाको यो बैठकबाट पारित संकल्प प्रस्ताव २०८१ को प्रमाणित प्रति माननीय प्रदेश प्रमुखज्यूसमक्ष तत्काल पठाउन यो प्रदेशसभा, कोशी प्रदेशसभा सचिवालयलाई निर्देशन गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर