नेपालसँग लज्जास्पद हारपछि हङकङका कप्तानले भने- उनीहरुले सबै क्षेत्रमा हामीलाई पछारे – Nepal Press

नेपालसँग लज्जास्पद हारपछि हङकङका कप्तानले भने- उनीहरुले सबै क्षेत्रमा हामीलाई पछारे

सेमिफाइनलको दावेदार मानिएको हङकङ समूहचरणबाटै बाहिरिने संघारमा

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दा हङकङले लगातार दोस्रो हारको सामना गर्यो । हिजो मात्र हङकङलाई कमजोर मानिएको साउदी अरबले स्तब्ध तुल्याएको थियो ।

समूह ए मा नेपालसँगै हङकङ समिफाइनलको दावेदार मानिएको थियो । तर, लगातार दुई खराब प्रदर्शनले हङकङलाई समूह चरणबाटै आउट हुने डीलमा पुर्याएको छ । तीन खेल खेलेको हङकङले दुई हार र एक जितसँगै दुई अंक मात्र बटुल्न सफल भएको छ । अब सेमिफाइनलमा जाने/नजाने उसको हातमा मात्र छैन ।

समूहको शीर्ष स्थानमा रहेको नेपालले लगातार तीन जितसँगै ६ अंक बटुलिसकेको छ । आजको ठूलो जितसँगै नेपालले आफ्नो रन रेटमा पनि सुधार गर्न सफल भयो । नेपालका लागि अब सेमिफाइनलको औपचारिकता मात्रै बाँकी छ । अन्तिम खेल नेपालले साउदी अरबविरुद्ध खेल्नेछ ।

साउदी अरब र मलेसियाले पनि एक एक खेल जितेका छन् । उनीहरुले २ खेल खेल्न बाँकी नै छ । दुई खेल खेलेको कतारले भने दुवैमा पराजय व्यहोरेको छ ।

आजको हारपछि हङकङका कप्तान निजाकत खानले निराशा व्यक्त गरेका छन् । नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा आफूहरुलाई पछारेको उनले स्वीकारोक्ति गरे ।

खानले भने, ‘साउदीविरुद्धको हार हामीलाई धेरै भारी परेको थियो । आजको खेलमा हामी जितको लक्ष्यका साथ उत्रिएका थियौं । तर, नेपालले हाम्रोभन्दा धेरै राम्रो खेल्यो । नेपालले सबै क्षेत्रमा हामीलाई पछार्यो । उनीहरुको फिल्डिङ पनि निकै खतरनाक थियो । म आफैं पनि रनआउट भएँ । त्यो एउटा टर्निङ प्वाइन्ट थियो । तर सबै क्रेडिट नेपाललाई दिन चाहन्छु ।’

खानले अबका नतिजाहरु आफ्नो टिमको फेभरमा आउने आशा व्यक्त गरेका छन् ।

‘अझै पनि केही भन्न सकिन्नँ । हाम्रो एउटा खेल मलेसियाविरुद्ध बाँकी छ । त्यसमा राम्रो जित निकाल्न चाहन्छौं । कतारले हामीलाई फेभर गर्ला भन्ने आशा छ’, उनले भने ।

नेपालका कप्तान रोहित पौडेलले बलरहरुलाई जितको क्रेडिट दिए । नयाँ बलमा बलरहरुले राम्रो सुरुवात दिएपछि सहज भएको उनको भनाइ छ । ओपनिङ ब्याट्सम्यानहरुको पनि पौडेलले प्रशंसा गरे ।

आजको प्लेयर अफ द म्याचको पुरस्कार अविनाश बोहरालाई दिइएको छ । उनले ३ विकेट लिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *