माधवकाे सुदूर कदमले सत्ता गठबन्धन तरंगित, ओलीको आक्रोशित टिप्पणीले थप कम्पन – Nepal Press

माधवकाे सुदूर कदमले सत्ता गठबन्धन तरंगित, ओलीको आक्रोशित टिप्पणीले थप कम्पन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेपछि गठबन्धनमा तरंग पैदा भएको छ ।

यहाँ कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका थिए । जसका कारण नयाँ सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएको हो ।

प्रचण्ड र ओलीले सुदूर पश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए । तर, उनीहरुले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने सहमति अर्को सहमति गरेपछि माधव नेपालले विद्रोह गरेका हुन् । सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नाउपामै विभाजन आएको छ ।

कांग्रेस, नेकपा एस र राप्रपाको समर्थन जुटाएर नाउपाका रेशम चौधरी निकट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । त्यस्तै एमाले र माओवादीको समर्थनमा रञ्जिता पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

रेशम पक्षका लक्ष्मणकिशोरलाई कांग्रेसका १८, नेकपा एसका ४, नाउपाका ७ र राप्रपाका १ गरी ३० सांसदको समर्थन छ । एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका कैलाशलाई एमालेका १०, माओवादीका १०, नाउपाका ६ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन छ । गठबन्धनभित्र विवादसँगै नाउपाभित्रबाटै दोहोरो मुख्यमन्त्रीको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुख कानूनी परामर्शमा छन् ।

यद्यपि, नाउपा सुदूरपश्चिममा रेशम पक्षकै बहुमत छ । रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री नियुक्त भए त्यसको तरंग केन्द्रसम्म आउने नेताहरुले दाबी गर्न थालेका छन् ।

तर, सत्ता गठबन्धन मुख्य घटक नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा एसले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट गरेको भन्दै आक्रोश पोखेका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘एस भन्ने पार्टी छ एउटा । हिजोमात्रै प्रधानमन्त्रीको दाबी गर्ने, मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो सुदूरपश्चिममा । एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यसप्रकारको अराजनीतिक निर्णय लियो । जुन सही दिशामा राजनीति फर्किंदै थियो ।

यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरुको आशा पलाउने गरी जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भए पनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो । यस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो । यसैले कुनै फरक पार्नेवाला छैन । यसले केही फरक पार्नेवाला छैन ।’

ओलीको यो अभिव्यक्तिपछि नेकपा एसका नेताहरु थप बिच्किएका छन् । उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले गठबन्धनको विकल्प सोच्न अध्यक्ष नेपालमाथि दबाब बढाउन थालिसकेका छन् ।

ओलीको यो आक्रोशपछि नेकपा एसका केन्द्रीय सदस्य सुदेश पराजुलीले अझै पनि राजनीतिमा अराजकतावाद र असहिष्णुको मुख्य भकारी ओली प्रवृत्ति र ओली नै भएको टिप्पणी गरे ।

उनले भनेका छन्, ‘अराजनीतिक नेकपा एकीकृत समाजवादी होइन, कमरेड केपी ओली र ओली प्रवृत्ति हो । अझै पनि राजनीतिमा अराजकतावाद र असहिष्णुको मुख्य/ठूलो भकारी ओली प्रवृत्ति र ओली हुन् । नेपाली राजनीतिमा झूट, छलछाम, गालीगलोज, आरोप-प्रत्यारोप, विधि पद्धतिको उल्लङ्घन, सहमतिमा धोकाधडीको सुरुवात कमरेड ओलीबाट नै भएको छ ।’

त्यसो त नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि प्रचण्ड-ओलीले गठबन्धनको जरा काट्न थाले देशभरि समस्या सिर्जना हुनसक्ने चेतावनी दिए । सुदूरपश्चिम प्रदेशको नेतृत्व आफूहरुलाई दिने सहमतिबाट प्रचण्ड र ओली ब्याक भएपछि नयाँ ढंगबाट अघि बढेको उनको भनाइ छ ।

आफूहरू नयाँ ढंगले अघि बढेपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग त्यसबारेमा थप छलफल नभएको बताए । उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकार बनाउने विषयमा ओली र प्रचण्डजीले जे व्यवहार देखाउनुभयो । त्यो व्यवहारले देशैभरि समस्या सिर्जना हुनसक्छ भन्ने कुरा उहाँहरूले सोच्नुभएन जस्तो लाग्छ ।’

भनेपछि यही समीकरणअनुसार अब अन्य प्रदेशदेखि केन्द्रसम्मै परकम्प आउनसक्छ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘हामी नयाँ ढंगबाट अगाडि बढेपछि माओवादी र एमाले सन्चो मानेर बस्यो भने केन्द्रको छुट्टै, तल छट्टै ढंगबाट चल्नसक्छ । उहाँहरूले सन्चो मान्नुभएन भने कुरा नयाँ ढंगबाट जान्छ । जरा काटेपछि रुखको टुप्पोको पात आफैं सुक्छ । त्यसैले गठबन्धनको जरा काट्न सुदूरबाट सुरू भयो ।’

तर, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सत्ता सहकार्यअनुसार नै सुदूरपश्चिम सरकार गठन हुने दाबी गरेका छन् ।

उनले भने, ‘केन्द्रमा जुन सत्ता सहकार्य भएको छ । त्यही सत्ता सहकार्यअनुरूपकै सरकार बन्छ । मुख्यमन्त्री त्यसैगरी आउनुहुन्छ । जुन सहकार्य केन्द्रमा छ, त्यही कोर्सअनुसार नै सुदूरपश्चिमको राजनीति अघि बढ्छ भन्ने विश्वास छ ।’

माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा पनि नेकपा एसको सुदूरमा चालेको कदमले गठबन्धनमा कुनै समस्या नआउने दाबी गरे ।

उनले भने, ‘पहिला नेकपा एसलाई नेतृत्व दिने कुरा भएको थियो । तर, पछि सबैलाई मिलाएर जानुपर्छ भन्नेबारे छलफल हुँदा नाउपालाई दिने सहमति भएको हो ।’

नेकपा एसभित्र दुई थरी मत आएको कारणले अहिले सुदूरपश्चिममा नयाँ परिस्थितिको प्रयास भएको उनको भनाइ छ ।

उनले थपे, ‘यो विषयमा छलफल हुँदैछ । सत्ता साझेदार दलहरुबीच छलफल भएर यो विषय टुंगो लाग्छ । यो विषय मिल्छ, केन्द्रसम्म तरंग आउँदैन ।’

तर, नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमबाट थालेको विद्रोह स्वाभाविक भएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रको कारणले नेकपा एस बाध्यताले नयाँ गठबन्धनमा जोडिएको उनको भनाइ छ ।

उनले भने, ‘प्रदेशमा फरक ढंगबाट निर्णय लिन प्रदेशसभा आफैंमा स्वतन्त्र छ । त्यही आधारमा उहाँहरुले फरक निर्णय गर्नुभएको हो । त्यो हामीले भन्दा पनि नेकपा एसका साथीहरुले गर्नुभएको छ । त्यहीअनुसार अन्य प्रदेशमा पनि नयाँ समीकरण बन्नसक्छ । काम गर्दै जाँदा विश्वास बढ्दै जान्छ । यही समीकरण केन्द्रसम्म पनि आउने सम्भावना त रहिरहन्छ ।’

उनले सत्ता गठबन्धनसँग भन्दा नेकपा एसको सहकार्य कांग्रेससँग प्राकृतिक हुने सुनाए ।

नेता विश्वकर्माले थपे, ‘अहिले पनि नेकपा एस बाध्यताले मात्रै नयाँ समीकरणमा गएको छ । उनीहरुको प्राकृतिक समझदारी र सहकार्य भनेको कांग्रेससँगै हो नि ! कांग्रेसको घोषणापत्रबाट चुनाव जित्नुभएको छ । अहिले प्रचण्डको अस्थिर उथलपुथलको कारणले नेकपा एसले अप्ठेरो निर्णय गर्नुपरेको छ । त्यो बाध्यताबाट बाहिर निस्कन नेकपा एसलाई पनि गाह्रो छ ।’

उनले कांग्रेसको नेतृत्वको सरकार बन्दा होस् वा कांग्रेसले नयाँ गठबन्धन बनाउँदा नेकपा एसले आफूहरुलाई समर्थन गर्ने दाबी गरे ।

माधव नेपालले गठबन्धनमा थालेको विद्रोह सदर भए मधेश, बागमती र लुम्बिनी प्रदेशमा पनि सरकार फेरिनसक्छ । त्यही गठबन्धन केन्द्रसम्म आए कांग्रेसले प्रयास गरिरहेको वैकल्पिक गठबन्धन पनि बन्नसक्ने राजनीतिक वृत्तमा चर्चा छ । नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए जसपा पनि बाहिरिन सक्नेछ । नयाँ गठबन्धन बन्ने बेलामा पनि सरकारमा जान जसपाले नेकपा एसको निर्णय पर्खेको थियो ।

त्यसैले कांग्रेसले चाहेअनुसारको वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । नयाँ सरकार गठन गर्न यो पर्याप्त गणित हो । केन्द्रमा वैकल्पिक गठबन्धन बन्ने अवस्था आए जनमोर्चा र स्वतन्त्र सांसदहरुको समेत साथ पाउने कांग्रेसको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर