सुरुङभित्र तामझाम : प्रधानमन्त्रीको स्वागतमा रेडकार्पेट र सोफा, यसरी भयो ‘ब्रेक थ्रु’ – Nepal Press

सुरुङभित्र तामझाम : प्रधानमन्त्रीको स्वागतमा रेडकार्पेट र सोफा, यसरी भयो ‘ब्रेक थ्रु’

सुरुङको ७२ प्रतिशत काम सम्पन्न, कहिले आउँछ सञ्चालनमा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दलबलसहित नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ हेर्न पुगेका छन् । उनलाई सुरुङभित्र तामझामपूर्ण स्वागत गरिएको छ ।

प्रधानमन्त्रीलाई रातो कार्पेट ओछ्याएर सुरुङभित्र स्वागत गरिएको हो । भीभीआईपी टोलीलाई बस्न नयाँ–नयाँ सोफासेटको समेत व्यवस्था गरिएको थियो । प्रधानमन्त्रीसँगैको सोफामा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ बसेका थिए । पूर्व भौतिक योजनामन्त्री प्रकाश ज्वाला पनि ब्रेक थ्रु हेर्न पुगेका थिए ।

नागढुंगा–नौबिसे सुरुङ्गमार्ग दुईतर्फ जोड्ने काम ब्रेक थु्र (अन्तिम छेड्ने काम) भएको छ । यसअघि २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थु्र’ गरिएको थियो । यो सुरुङ्गमार्ग सञ्चालनमा आएपछि नेपालकै पहिलो गाडी गुड्ने सुरुङ्गमार्ग हुने छ ।

बैंशाखभन्दा अघि नै नागढुंगा–नौबिसे सुरुङ्गमार्ग ब्रेक थ्रु गर्ने योजना सरकारले बनाएको थियो । तर, स्थानीयको आन्दोलनका कारण केही समय पछाडि धकेलिए पछि आज १ः५७ मा ब्रेक थ्रु भएको हो । प्रधानमन्त्रीले बटम थिच्दै २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङमार्गको पूर्व नागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोडेका हुन् ।

ब्रेक थ्रु पछि पनि सुरुङ्गमार्ग सञ्चालनमा आउन करिब १ वर्ष लाग्ने छ । आजबाट टनेलको सुरुङ निर्माणको काम सकिने छ । हालसम्म ७२ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ, भने २८ प्रतिशत काम बाँकी नै छ ।

जापानी कम्पनी हाजमा एण्डो कर्पोरेसनले सो सुरुङ्गमार्ग निर्माण गरेको हो । केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा । सुरुङ्गमार्ग शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो । तर, २०८१ सालको अन्त्यतिर मात्रै सुरुङ्गमार्ग सञ्चालनमा आउने भएको हो ।

सञ्चालनमा आएपछि उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जाने बताइएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलब ४५ किमि रहेको छ ।

निर्माण सम्झौताअनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक समेत रहने छन् । सुरुङमार्ग सञ्चालनमा आएपछि नौबिसे–थानकोटको झण्डै ८ किलोमिटर लम्बाईसँगै झण्डै ३० मिनेट यात्रा समय छोटिने छ ।

कुल २२ अर्ब रूपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।
जापान सरकारको करिब १६ अर्ब रूपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्दै गरेको हो ।

धादिङको धुनिबेँसी नगरपालिकाको सिस्ने खोलाबाट सुरू भई काठमाडौंको चन्द्रागिरी नगरपालिका बलम्बुमा निस्किने छ ।

 


प्रतिक्रिया

One thought on “सुरुङभित्र तामझाम : प्रधानमन्त्रीको स्वागतमा रेडकार्पेट र सोफा, यसरी भयो ‘ब्रेक थ्रु’

  1. यो पहिलो सुरूङ मार्ग हैन है! पहिलो त चुरे मा रहेंको मोटर चल्ने पहिलो सुरूङ मार्ग हो। यो अब दोस्रो हो। छाप्न अगाड़ी अध्ययन गर्नुपर्यो हजूर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *