विनोद गिरीमाथि गोली हान्ने मुख्य योजनाकारलाई पक्राउकाे माग गर्दै सुर्खेतमा प्रदर्शन – Nepal Press

विनोद गिरीमाथि गोली हान्ने मुख्य योजनाकारलाई पक्राउकाे माग गर्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत । सुर्खेत जिल्ला अदालत बाहिर तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहारका मुख्य योजनाकारलाई पक्राउ गर्न भन्दै प्रदर्शन गरिएको छ ।

गत फागुन १२ गते भएको गोली प्रहारको प्रयासमा मुख्य योजनाकार प्रकाउ नगरेको भन्दै गिरीका आफन्तले प्रदर्शन गरेका हुन् ।

सोमबार गिरीका आफन्तले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । ‘निर्दाेष नफसोस् दोषी नउम्कियोस्, गोली हानी ज्यानै लिने संगठित अपराधीहरुको जालोसम्म कहिले पुग्छ प्रहरी र पीडितले सुरक्षित महसुस हुन अझै कति कुर्नु पर्ने ? जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

गत फागुन १३ गते गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको थियो ।

प्रहरीले पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेका थिए । तर, घटना घटेको दुई महिना पुग्न लाग्दासमेत प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई पक्राउ गरेको छैन ।

वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो ।

भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो ।

प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिको रुपमा सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर