सुप्रिम सहकारीमा १ अर्बभन्दा बढी अपचलन भएको प्रहरी प्रतिवेदन, जीवी राई, दीपेश पुनसहित २८ जना प्रतिवादीविरुद्ध मागदाबी – Nepal Press

सुप्रिम सहकारीमा १ अर्बभन्दा बढी अपचलन भएको प्रहरी प्रतिवेदन, जीवी राई, दीपेश पुनसहित २८ जना प्रतिवादीविरुद्ध मागदाबी

५ जना पक्राउ अरू फरार सूचीमा

रुपन्देही । एक अर्बभन्दा बढी सर्वसाधारणको रकम अपचलन गरेको सुप्रिम सहकारीका अध्यक्ष जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

प्रहरीले प्रतिवादी बनाएका २८ जनामध्ये अहिलेसम्म ५ जना पक्राउ परेका छन् भने अरूलाई फरार सूचीमा राख्दै प्रहरीले दुई महिना लगाएर प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनमा २८ जना प्रतिवादीलाई १ अर्ब २ करोडको बिगो मागदाबी गरिएको छ । फागुन ३ गतेदेखि केही आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका १० हजार बचतकर्ता अन्यायमा परेको भन्दै प्रहरीमा आफूहरू ठगिएको निवेदन दिएका छन् । रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले दुई महिनाको अनुसन्धानपछि २८ जना प्रतिवादी र १ अर्ब २ करोड बिगो मागदाबी गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको बताए ।

‘हाम्रो तर्फबाट सबै अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएका छौँ, प्रतिवादीमध्ये ५ जना पहिले नै पक्राउ छन्, अरू फरार अवस्थामा छन्, अब मुद्दा दर्ता भएपछि बाँकी प्रक्रिया अघि बढ्छ’ उनले भने । प्रहरी प्रतिवेदनमा ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीवी) राईसहित २८ जनालाई प्रतिवादी बनाएको छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दीपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जनाबाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन् ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीमा थोरै सङ्ख्यामा निवेदन दिइए पनि १० हजार सदस्यहरू यसबाट पीडित भएको भन्दै उनीहरूले संगठित रूपमै आफ्ना आवाजहरू उठाएका छन् ।

हजारदेखि तीन करोडसम्म बचत गरेका सुप्रिम पीडितहरूले राजनीतिक संरक्षणमै यो विषयलाई जोगाउन खोजिएको भन्दै तत्काल यसका अध्यक्ष र व्यवस्थापकलाई पक्राउ गरेर आफ्नो रकम उपलब्ध गराउन माग गरेको पीडित समितिका संयोजक विजयकुमार नेपालले जनाएका छन् । समितिले वैशाख ४ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर