जिल्लान्तर शिक्षक सरुवाको मापदण्ड बनाउन सुझाव संकलन गर्दै मन्त्री श्रेष्ठ – Nepal Press

जिल्लान्तर शिक्षक सरुवाको मापदण्ड बनाउन सुझाव संकलन गर्दै मन्त्री श्रेष्ठ

काठमाडौं । विभिन्न किसिमका गुनासा आएपछि जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्ड निर्माणका लागि सुझाव संकलन थालेकी छन् ।

उनले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालासँग छलफल गरेकी छन् । पहिलो चरणमा गत चैत ३० गते सात वटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकसँग अनलाइन संवाद गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव केशव दाहालले जानकारी दिए ।

उनका अनुसार प्रधानाध्यापकले शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्ड र नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नालगायतका विषयमा सुझाव दिएका छन् ।

आइतबार बैशाख २ गते पनि विभिन्न प्रदेशका शिक्षकसँग सुझाव सङ्कलन गर्न छलफल गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न प्रदेश र समुदायका १३ जना प्रतिनिधि शिक्षकसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्री श्रेष्ठले सुझाव लिएको केन्द्रका महानिर्देशक दीपक शर्माले बताए ।

उनका अनुसार केन्द्रले सुझावको अभिलेख गर्दै शिक्षक सरुवाको मापदण्ड बनाइरहेको छ ।

पारदर्शी नीति निर्माण र सहभागितामूलक नेतृत्वका लागि सबै सरोकारवालासँग छलफल गरेरमात्रै मापदण्ड मस्यौदा गर्ने शिक्षामन्त्रीले प्रतिबद्धता जनाएकी थिइन् । छलफलमा सहभागीले शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्ने सुझाएका छन् ।

उनीहरुले जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुनेगरी वर्षको एक पटकमात्रै हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर