तराई मधेशमा आज चैती छठ, जनकपुरमा घाट पुगे व्रतालुहरू – Nepal Press

तराई मधेशमा आज चैती छठ, जनकपुरमा घाट पुगे व्रतालुहरू

जनकपुरधाम । जनकपुरधामसहित मधेशका जिल्लाहरूमा आज श्रद्धा पूर्वक चैती छठ पर्व मनाइँदै छ ।

जनकपुरधामको गंगासागर, अरगजासहितका पोखरीमा चैती छठ मनाउने व्रतालुहरू घाटमा पुगेका हुन् । घाटमा छठ सामग्री राखेपछि आकर्षक देखिएको छ । चर्को घाम रहेकाले अहिले घाटमा भिडभाड देखिएको छैन ।

छठ व्रतालुहरू छठीमैयाको रूपमा सूर्य देवताको पूजा गरिन्छ । आज अस्ताउँदो सूर्यलाई अर्घ चढाउने व्रतालुहरूको तयारी छ । भोलि बिहान उदाउँदो सूर्यलाई व्रतालुले अर्घ दिएपछि चैती छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठकुवा, उखुलगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलश लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ । जसलाई शुद्धताको प्रतीकको रूपमा लिने गरिएको छ ।

वर्षमा दुई पटक छठ पर्व मनाइन्छ । अधिकतरले कार्तिकमै छठ मनाउँछन् । तर अब चैती छठ मनाउनेको संख्या पनि बढ्दै गएको छ ।

छठ पर्व गर्नाले घरमा सुख र शान्ति प्राप्त हुने तथा चर्मरोग निको हुने धार्मिक विश्वास छ । कतिपयले सन्तान प्राप्त हुने विश्वासका साथ पनि छठ मनाउने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *