सुदूरपश्चिममा वैकल्पिक गठबन्धनको प्रयास : नाउपाका ४ सांसद लिएर कांग्रेस प्रदेश प्रमुखकहाँ – Nepal Press

सुदूरपश्चिममा वैकल्पिक गठबन्धनको प्रयास : नाउपाका ४ सांसद लिएर कांग्रेस प्रदेश प्रमुखकहाँ

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता गुमाएकाे कांग्रेसले बैकल्पिक गठवन्धनमार्फत फेरि कमब्याककाे प्रयास थालेकाे छ । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्रीमा प्रस्तावित गर्दै कांग्रेसले बैकल्पिक गठबन्धन बनाउन खाेजेकाे हाे ।

प्रदेश प्रमुख नजिर मियाँले दिएको समय सकिन २ घण्टा बाँकी छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपा मिलेर सरकार गठनको तयारी भइरहेको दाबी गरे ।

अहिले नाउपा रेशम पक्षका चार र कांग्रेसका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । तर, नेकपा एकीकृत समाजवादीका सांसदहरू भने त्यहाँ छैनन् । केन्द्रकाे सत्ता गठबन्धनमा रहेकाले नेकपा एकीकृत समाजवादीमा प्रदेशमा सत्ताइतर गठबन्धनमा सहभागी नहुन दबाब परेको छ ।

यहाँ नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । तर, केन्द्रमा आज नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने बताइएपछि कांग्रेसले नाउपा र नेकपा एकीकृत समाजवादीलाई मिलाएर सरकार गठनको तयारी गरेको हो ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले कांग्रेससहितको सरकार बनाउने गरी सहमति गरे पनि केन्द्रबाट भने त्यस विषयमा कुनै निर्णय नगरेको बताए ।

‘हामीले सुदूरपश्चिम प्रदेशका विषयमा कुनै निर्णय गरेका छैनौं’, महासचिव घनश्याम भुसालले भने, ‘हामी प्रधानमन्त्रीको प्रतिक्रियाको प्रतीक्षामा छौं ।’

केही बेरअघि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डले सिंहदरबार छलफल गरेर निस्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर