सिक्स हिटर ऐरी : ६ छक्काले खाेल्ला आइपीएलको ढोका ? – Nepal Press

सिक्स हिटर ऐरी : ६ छक्काले खाेल्ला आइपीएलको ढोका ?

दुई पटक ६ बलमा ६ छक्का हान्ने दीपेन्द्र विश्वकै पहिलो ब्याट्सम्यान

काठमाडौं । फेरि एकपटक आफ्नो ‘बिग हिटिङ’ क्षमताको पुनः पुष्टि गर्दै नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी विश्वभरका क्रिकेट न्यूजहरुमा छाउन सफल भएका छन् । कतारविरुद्ध उनले हासिल गरेको दुर्लभ सफलताले पक्कै पनि विश्वभरका टी–२० फ्रेन्चाइजीहरुको मुख रसाएको हुनुपर्छ ।

नयाँ वर्षको पहिलो दिनलाई रंगीन बनाउँदै दीपेन्द्रले एकै ओभरमा ६ छक्काको विश्व कीर्तिमान बराबरी गरेका हुन् । एक ओभरमा ६ बल हुन्छन् । कमजोर टीम र मामुली बलर नै किन नहोउन्, प्रत्येक ६ बलमा म्याक्सिमम रन बटुल्नु चानचुने सफलता होइन ।

अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा अहिलेसम्म ४ जना ब्याट्सम्यानले मात्रै यो कीर्तिमान राखेका छन् । यो एलिट क्लबमा पाँचौं ब्याट्सम्यानका रूपमा दीपेन्द्रले इन्ट्री भएको छ ।

प्रतिस्पर्धात्मक रूपमा चलिरहेको पहिलो इनिङको अन्तिम ओभरमा दीपेन्द्रले हात खोल्दा कतार स्तब्ध बन्यो । त्यसपछि खेल उसको पकडबाहिर गएको थियो । दीपेन्द्र यसरी विस्फोट नभएको भए दोस्रो इनिङमा कतारले नेपाललाई स्तब्ध पार्न सक्ने स्थिति थियो, जुन खेलको अन्तिम नतिजाबाट देखिन्छ । कतार ३२ रनले मात्रै पछि पर्‍यो ।

दीपेन्द्रको कुरा गर्ने हो भने उनका लागि लगातार छक्का प्रहार गर्नु कुनै नयाँ कुरा भने होइन । गत वर्ष एसियन गेम्समा मंगोलियाविरुद्धको खेलमा उनले योभन्दा पनि अद्भुत विश्व कीर्तिमान राखेका थिए, जुन भविष्यमा कसैले तोड्न असम्भव छ । त्यो म्याचमा पनि दीपेन्द्रले ६ बलमा छक्का हानेका हुन्, तर फरक ओभरमा । एउटा ओभरमा उनले लगातार पाँच छक्का हानेका थिए, भने अर्को ओभरको पहिलो बलमा फेरि छक्का हानेका थिए । यस प्रकार दुई पटक ६ बलमा ६ छक्का हान्ने दीपेन्द्र विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

मंगोलियाविरुद्धको म्याचमा दीपेन्द्रले सर्वाधिक थोरै ९ बलमा अर्धशतक बनाएका थिए । हरेक बलमा छक्का हान्दाखेरि पनि अर्धशतक बनाउन कम्तीमा ९ बल नै लाग्छ । त्यसैले भविष्यमा कुनै ब्याट्सम्यानले दीपेन्द्रको बराबरी गर्न सक्ला तर, रेकर्ड तोड्न असम्भव छ । त्यसबेला पनि दीपेन्द्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा छाएका थिए ।

भलै मंगोलिया क्रिकेटको सिकारु टिम थियो । कतार भने तुलनात्मकरुपमा राम्रो टिम हो । खेलअघि कतारका प्रशिक्षकले नेपाललाई हराउने आत्मविश्वाससमेत प्रकट गरेका थिए । खेलका दुवै इनिङमा कतारले नेपाललाई कडा टक्कर दिएको पनि हो । यदि त्यो अन्तिम ओभरलाई हटाउने हो भने ५०/५० को खेल थियो ।

आफ्नो प्रमुख बलर अमिर फारुक २.२ ओभर बल फ्याकेपछि घाइते भएका थिए । उनको स्थानमा पार्ट टाइम बलर कमरान खानलाई ल्याइएको थियो । खानले १.४ ओभर बलिङ गरे ।

फारुकले फ्याक्न बाँकी रहेको ओभरको ४ बलमा उनले ६ रन खाएका थिए । त्यसपछि अन्तिम ओभरमा कप्तानले कमरानलाई बल थमाए । जुन निर्णय उनका लागि आत्मघाती बन्यो ।

दीपेन्द्रले एक ओभरमा ६ छक्का हानेको समाचारलाई आईसीसी, क्रिकइन्फोदेखि थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभर गरेका छन् । भारतका मिडियाले अझै बढी हाइलाइट गरिरहेका छन् । यसले दीपेन्द्रलाई आगामी यात्रामा ठूलो हेल्प मिल्न सक्छ । खासगरि अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजीहरुले दीपेन्द्रप्रति पक्कै चासो दिनेछन् ।

दीपेन्द्र नेपालका नम्बर १ टी–२० खेलाडी हुन्, जो ब्याटिङ मात्र नभएर बलिङमा पनि अब्बल छन् भने उनको फिल्डिङ पनि असाध्यै धारिलो छ । टी–२० मा यस्तो अलराउन्ड क्षमताले ठूलो महत्त्व राख्छ । त्यसैले पनि दीपेन्द्रप्रति अन्तर्राष्ट्रिय फ्रेन्चाइजीहरु आकर्षित हुन सक्नेछन् । दीपेन्द्रले गत वर्ष नै अन्तर्राष्ट्रिय टी–२० लिगमा इन्ट्री पनि गरिसकेका छन् । उनले क्यानडाको ग्लोबल टी–२० लिगमा मन्ट्रेल टाइगर्सबाट खेल्दै राम्रो प्रदर्शनसमेत गरेका थिए । उनको टीमले उपाधि नै जितेको थियो ।

दीपेन्द्र केहीअघि मात्रै यूएईको इन्टरनेसनल लिग टी-२० मा पनि आबद्ध भएका थिए । प्रतियोगिताको बीचमै गल्फ जायन्ट्सले उनलाई खरिद गरेको भए पनि दीपेन्द्र मैदानमा उत्रिन भने पाएका थिएनन् ।

हिजोको इनिङले विश्वको सर्वाधिक चर्चित टी-२० लिग आइपीएलमा समेत दीपेन्द्रको ढोका खुल्न सक्ने आशा गरिएको छ । आइपीएलमा अहिलेसम्म नेपालबाट सन्दीप लामिछानेपछि दोस्रो खेलाडीले प्रवेश पाउन सकेका छैनन् । सन्दीपले तीन संस्करण आइपीएल खेलेर उत्कृष्ट प्रदर्शन गरे पनि फ्रेन्चाइजीहरुले अर्को खेलाडी नेपालबाट भित्र्याउन चाहेनन् । तर, दीपेन्द्र र कुशल मल्लजस्ता अलराउन्ड क्षमता भएका विस्फोटक खेलाडीहरुलाई अब कहिलेसम्म नजरअन्दाज गर्लान् त ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *