सलहेश फूल फक्रिएन, गहबरमा पूजापाठ गर्नेको घुँइचो – Nepal Press

सलहेश फूल फक्रिएन, गहबरमा पूजापाठ गर्नेको घुँइचो

जनकपुरधाम । सिरहाको लहान नगरपालिकामा पर्ने ऐतिहासिक सलहेश फूलवारीमा विगतका वर्षजस्तै आज पनि ठूलो मेला लागेको छ ।

मेला भर्न भारत र नेपालका विभिन्न जिल्लाका मानिस उर्लिएका छन् । ९ विघामा फैलिएको सलहेश फुलवारी खचाखच भरिएको छ । भारतबाट प्रायः श्रद्धालु एकदिन अगावै फुलवारी आइपुग्छन् । उनीहरु फुलवारीमै खाना पकाउँछन्, पूजापाठ गर्छन् र खान्छन् ।

यो मेलाको मूख्य आकर्षण हुन्छ– हरेक वर्ष वैशाख १ गते मात्र फूल्ने अनौठो फूल । सलहेश गहबर नजिकै रहेको हारमको बोटमा यो अनौठो फूल फूल्छ । तर यसवर्ष फूल राम्रोसँग फक्रिएको छैन । यद्दपी बोटमूनी पूजापाठ गर्ने र फोटो खिच्नेहरुको बिहानैदेखि ठूलो भीड छ ।

सलहेश फूलबारीको कथा १४ औं शताब्दीका लोकनायक राजा सलहेश र उनका प्रेमीका मालिनीहरुको (रेशमा, कुशमा र दौना) गाथासँग जोडिएको छ । भनिन्छ– कुशमा राजा सलहेशसँग प्रेम गर्थिन् । तर विवाह गर्न पाइनन् । त्यसैले उनी नै हरेक नयाँ वर्षको दिन माला आकारको फूलको रुपमा देखा पर्ने गरेकी छन् ।

राजा सलहेसले मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने र सिलहट अखाडामा कुस्ती खेलेपछि कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको पीरमार्का सुन्ने गरेका थिए । त्यसैले पनि सलहेशलाई लोकनायक भनेर पनि चिनिन्छ ।

राजा सलहेश दलितमा पर्ने दुसाद (पासवान) जातिका थिए । अहिले दुसाद र दनुवारले ‘सलहेश’लाई कुल देवता मान्छन् । तर पूजा भने सबै जातीले गर्दछ । सलहेस गहबरमा पूजापाठ गर्नेहरुको घुँइचो लागेको छ ।

मनोकमना पुरा गरेको विश्वासका साथ सलहेश गहबरमा आजको दिन पूजापाठ गरिन्छ । मालिले बनाएर बेच्ने कागजको झाँप प्रायः श्रद्धालुले सलहेशको गहबरमा चढाइरहेका छन् । सलहेश गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरुले सन्तान समेत पाउने गरेको स्थानीय बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर