लुम्बिनी प्रदेशमा २०८० साल: एकै वर्षमा बने तीन सरकार, शान्तिभूमि लुम्बिनी दर्जनाैं कार्यक्रम – Nepal Press
वर्ष समीक्षा २०८०:

लुम्बिनी प्रदेशमा २०८० साल: एकै वर्षमा बने तीन सरकार, शान्तिभूमि लुम्बिनी दर्जनाैं कार्यक्रम

रुपन्देही । लुम्बिनी प्रदेशमा २०८० सालमा थुप्रै राजनीतिक उथलपुथल मात्रै भएनन् प्राकृतिक विपत्तिका थुप्रै घटनाको सामना गर्नुपर्यो ।

धेरै जनाले ज्यान गुमाउनेगरी ठूलाठूला दुर्घटना भए भने धार्मिक द्वन्द्व बढाउनेगरी भएका वितण्डा कम गर्न सर्वधर्म सन्जालले आफ्नो काम थाल्यो । पर्यटन क्षेत्रमा केही सुधारसँगै शान्ति भूमि लुम्बिनीमा दर्जनौं अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम भएका छन् ।

एकै वर्षमा बने तीन सरकार

यो वर्ष प्रदेशमा तीन वटा मुख्यमन्त्री बनेका छन् । वर्षको सुरुमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री रहेका थिए । तर बैशाख १२ गते उनले विश्वासको मत नपाएपछि वैशाख १४ गते माओवादीसहित ८ दलका ५३ जना सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता रहेका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका थिए ।

तर चौधरीले १ वर्ष पनि पूरा गर्न नपाउँदै केन्द्रीय समीकरण फेरियो र फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि चैत २२ गते राजीनामा दिए । त्यसपछि एमालेसहित ५ दलको समर्थनमा ४८ सांसदको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् । उनले चैत ३० मै विश्वासको मत पाएका छन् ।

नेपालगन्ज हिन्दु–मुल्लिम द्वन्द्वले प्रभावित

असोज ११ मा सामान्य व्यक्तिबाट पोष्ट गरिएको स्टाटसमाथिको कमेन्टले १६ गतेसम्म पुग्दा नेपालगन्जमा हिन्दु र मुस्लिम दुई समुदायबीच सौहार्दपूर्ण वातावरण खलबल्याउने प्रयास भयो ।

मुस्लिम समुदायका पैगम्बरको १४९८ औं जन्मोत्सवका क्रममा मोहम्मद डे मनाइरहेको अवस्थामा बाँकेका एक मौर्य थरका स्थानीय युवाले पोष्ट गरिएको स्टाटसमा कमेन्ट लेख्दै बाँके नरैनापुरका यादव थरका युवाले अपमानजनक शब्दसहित कमेन्ट गरेका थिए ।

ती युवाले कमेन्टमा इस्लाम धर्मका पैगम्बर मोहम्मदको निन्दा गर्दैै सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट लेखेका थिए । त्यही कमेन्टको शब्दले नेपालगन्जमा अशान्ति मच्चाएको थियो । यो विवादलाई समाधान गर्न प्रशासनले लामो समय कफ्र्यू लगाउनुपरेको थियो । पछि सर्वपक्षीय भेला गरेर एक महिनापछि विवाद समाधान भएको थियो ।

भूकम्पले प्रभावित
कात्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले लुम्बिनी प्रदेशका रोल्पा, रुकुम पूर्व लगायतका जिल्लामा धेरै प्रभावित बनायो । जाजरकोट र रुकुम पश्चिम धेरै जनधनको क्षति भएको यो भूकम्पले लुम्बिनीमा कुनै व्यक्तिको मृत्यु नभएपनि घाइते र घरहरुमा क्षति भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएकाले लुम्बिनी प्रभावित भएको थियो । विशेषगरी सीमा क्षेत्रमा रहेका जिल्ला भएकाले राप्ती, रोल्पा, रुकुमपूर्वलगायत प्रदेशका सबै जिल्लाबाट आर्थिक, भौतिक सहयोग गरिएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कात्तिक १४ गते बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दै विश्वशान्तिको केन्द्र बनाउन सकिने विचार राखेका थिए ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गरेका थिए ।

गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन् । यसअघि राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हृयामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डी कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । गुटेरेस सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि नेपाल भ्रमणमा पहिलोपटक आएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायतका विषयमा छलफल गरिएको थियो ।

सडकमा दूध पोखेर किसानको विरोध

दूधले उचित मूल्य नपाएको र खपत कम भएको विरोधमा पश्चिम नवलपरासीका किसानले सडकमा दूध पोखेर विरोध जनाए। विभिन्न बहाना बनाउँदै निजी तथा सरकारी दुग्ध कम्पनीले किसानको दूध नियमति खरिद नगरेको तथा लगानी अनुसारको मूल्य नदिएको भन्दै उनीहरुले विरोधस्वरुप बर्दघाटमा बीच सडकमै दूधको खोलो बगाएका थिए ।

किसानले उत्पादन गरेको दूध बिक्री नहुने र मुल्य नपाएपछि यहाँका किसानले संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका थिए । किसानको माग ठिक भएपनि सडकमा दूध पोख्ने काम गलत भएको भन्दै यो आन्दोदनको आलोचना भएपछि किसानहरुले आन्दोलनको रुप फेरेका थिए ।

अर्घाखाँचीका सांसद तथा एमाले नेता रायमाझी पक्राउपछि निलम्बन

अर्घाखाँचीबाट संघीय सांसद निर्वाचित पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै प्रतिनिधिसभा सदस्यबाट निलम्बित भए ।

अघिल्लो कार्यकालमा पनि माओवादी छाडेर एमाले रोजेका कारण पूरै कार्यकाल बिताउन नपाएका रायमाझी यो पटक पनि एक वर्ष बाहिर थुनामा बसिसकेका छन् । जिल्ला र उच्चबाट थुनिएका उनको मुद्दा सर्वोच्चमा रहेको छ ।

नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो ।

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउपछि छुटे

नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण उच्च अदालतको आदेशबाट छुटेका थिए । यद्यपि उनको मुद्दाको अझै छिनोफानो भने लागेको छैन । उनी पक्राउ परेपनि कांग्रेसबाट निलम्बित भएका थिएनन् ।

तीन ठूला दुर्घटना मृत्यु र घाइतेको संख्या धेरै

दिनहुँजसो दुर्घटना भइरहने प्रदेशमा पुस र फागुनमा तीन ठूला दुर्घटना भए । रानमार्गमै भएका दुई घटनामा ठूलो मानवीय क्षति भयो । पुस २७ मा दाङको भालुवाङस्थित राप्ती पुलमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।

त्यसैगरी फागुन १ गते पाल्पाको तिनाउमा भएको जीप दुर्घटना ८ जनाको मृत्यु भएको थियो भने डेढ दर्जन घाइते भएका थिए । फागुन २ गते कपिलवस्तु र दाङको सीमा क्षेत्रमा रहेको धानखोलामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु र ३० जना घाइते भएका थिए ।

अन्तर्राष्ट्रिय लोरियट सम्मेलन स्थगित, १९ देशका राजदूतको सम्मेलन आयोजना

फागुनको २८ र २९ गते लुम्बिनीमा हुने भनिएको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन सबै तयारी गरेर अन्तिम समयमा स्थगित गरियो । केन्द्रमा सरकार परिवर्तन भएपछि अन्योलमा रहेको सम्मेलनलाई लुम्बिनी प्रदेश सरकारले स्थगित गरेर कूटनीतिक तहमा नराम्रो सन्देश गएको छ ।

यो सम्मेलनको शुरुवाती समयदेखि नै दलाई लामाको विषयले विवादमा पर्दै गएको थियो तर प्रदेश सरकारले लामाको कुनै सम्बन्ध नभएको दावी गर्दै आएको थियो । पछि यहाँ रोकिएको यो सम्मेलन दिल्लीमा २९ फागुनमा एक दिन गरिएको थियो । विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेतासहित विभिन्न दातृ निकायका लगानी साझेदारहरू, १ सयभन्दा बढी विदेशी पाहुनाहरूलाई आमन्त्रित गरिपछि अन्तिम समयमा यो रोकिएको हो ।

त्यसको केही समयपछि लुम्बिनीमै विभिन्न १९ देशका राजदूतहरुको सहभागितामा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरियो । २ दिने सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ लुम्बिनी आएका थिए ।

फागुन २८ र २९ गते विवादका कारण आयोजना गरेर स्थगित भएको लौरियर्ट एण्ड लिडर्स सम्मेलनका कारण निराश यहाँका व्यवसायीलाई यो सम्मेलनले ऊर्जा थपेको छ । उनीहरु परिवारसहित आएको विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु सहभागी रहेका थिए ।

लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउन सबै दलको साझा संकल्प

बुद्ध जन्मस्थल लुम्बिनीमा २०८० चैत १७ गतेदेखि २३ गतेसम्म विराट चक्र विज्ञान तथा ध्यानसहितको प्रयोगात्मक शिविरमा ६ हजारभन्दा बढी सहभागीले एकै पटक साधना गरे । आधुनिक शैलीमा बनाइएको अन्तर्राष्ट्रिय साधना कक्षमा अहिलेसम्म सबैभन्दा धेरै सहभागी गराएर यस्तो कार्यक्रम गरिएको हो ।

जीवन विज्ञान परिषद्को आयोजनामा भएको यो शिविरमा नेपालसहित विभिन्न २० मुलुकका रहेका गैरआवासीयसमेत ६ हजारभन्दा बढी योग प्रेमीहरू सहभागी भएका हुन् । यसको समापनमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरु सहभागी भएर लुम्बिनीलाई विश्वशान्तिको केन्द्र हनाउने साझा संकल्पमा हस्ताक्षर गरेका थिए ।

लुम्बिनी पीस म्याराथनको रुटलाई अन्तराष्ट्रिय मान्यता
लुम्बिनी पीस म्याराथनको रुट अन्तराष्ट्रिय मान्यता पाएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा हुने यो म्याराथनलाई खेलकुदको स्वतन्त्र मान्यता प्राप्त सदस्यहरूको गठबन्धन एम्सले मान्यता दिएको हो । यही आधारमा चैतको अन्तिम साता लुम्बिनीमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

दोस्रो संस्करणको म्याराथनको आयोजना हुन लागेको बेला नेपाल ओलम्पिक कमिटिको सहयोगमा एम्सका प्रतिनिधिले लुम्बिनी पीस म्याराथनको रुटलाई मापन गरि सर्टिफिकेट दिएको हो । नेपालगंज, काठमाडौ र पोखरा म्याराथनसंगै अब एम्सबाट मान्यता पाएको यो चौथो ईभेन्ट बनेको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बताए ।

प्राविधिक टोलीहरु आएर करीब ३ दिनको काम सकेर रुट फाइनल भएको उनले बताए । लुम्बिनीको शान्ति दीपबाट शुरु भएर भैरहवासम्मको २१ किलोमिटर दुरी मापन भएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलले पाएन गति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भन्दै बनाइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय उडान गर्दै आएको एक मात्र कुवेतको जजीरा एअरवेजले उडान बन्द गरेपछि उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको हो । ०७९ जेठ २ मा यो विमानस्थलको उद्घाटन गरिएको थियो ।

विमानस्थल अधिकारीका अनुसार गत जाडोयाममा हुस्सुका कारण उडान नगरेको जजीरा एअरवेजले त्यसपछि केही उडान गरेर फेरि बन्द गरेको छ । यो बाहेक अन्य कम्पनीले पनि यहाँबाट उडान भरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर