राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवद्वारा नयाँ वर्षको शुभकामना – Nepal Press

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए ।

“नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।”

राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गरेका छन् । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।  उनले भने्, “जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु ।”

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदेशलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना दिँदैले सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउन सबै एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गरे ।

 

उपराष्ट्रपति यादवले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा गणतन्त्रात्मक लोकतान्त्रिक सङ्घीयता र समावेशीतालाई सबैले पालना गर्न सक्ने शक्ति र सामथ्र्य नयाँ वर्ष २०८१ ले प्रदान गर्नेमा विश्वास समेत व्यक्त गरेका छन् ।

“नव वर्ष, २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सुदीर्घ र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भने,, “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले नयाँ वर्षमा सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन सबै एक ढिक्का भई अघि बढ्ने विश्वास पनि व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले देशलाई सबल र समुन्नत मुलुक बनाउन सबैलाई प्रतिबद्ध र कटिबद्ध हुनका लागि आह्वान गर्नुभएको छ ।  मुलुकमा वर्षौंदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प र प्रण लिने अवसरका रुपमा नयाँ वर्षलाई लिन उनको सुझाव छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर