चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक- फरक भूमिकामा देखिए आर्यन, प्रदीप र पल (भिडिओ) – Nepal Press

चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक- फरक भूमिकामा देखिए आर्यन, प्रदीप र पल (भिडिओ)

काठमाडौं । वर्ष २०८१ मा रिलिजको तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज गरिएको टिजरमा तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु फिचर्ड छन् ।

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने यस चलचित्रको १ मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ । टिजरको लम्बाइ छोटो हुने भए तापनी निर्देशक राउतले सबै कलाकारलाई अटाएका छन् ।

टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिएका छन् भने मैत बहादुर बनेका प्रदीप खड्कासँगै भागिरहेका देखिन्छन् । एक दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिन्छन् ।

दमाहा बजाउँदै गरेका प्रदीप खड्का बाजा बजाउने काम गरेको टिजरमा देखिन्छन् । उनले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यन सहित लखेटिरहेको देखिन्छ । उनको भूमिकाले जातीय विभेदलाई दर्शाएको छ ।

केही क्षणमा पल शाह देखिन्छन् । उनले भरुवा बन्दुक चलाएका छन् । उनले को माथि बन्दुक प्रहार गरेको त्यो भने खुलेको छैन । टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । उनले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् भने निर्देशक राउतले यही शुक्रवार चलचित्र हल र डिजिटल रूपमा टिजर सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन् ।

चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले चलचित्र ’प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । यो उनले निर्माण गरेको पहिलो चलचित्र हो । चलचित्रमा निर्माता भुसाल आफैले सङ्गीत भरेका छन्। चलचित्रमा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ’पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् । राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् ।

यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *