फर्केर हेर्दा : २०८० मा सुदूरपश्चिमका चर्चित ८ हेडलाइन – Nepal Press

फर्केर हेर्दा : २०८० मा सुदूरपश्चिमका चर्चित ८ हेडलाइन

कैलाली । २०८० सुदूरपश्चिम प्रदेशको लागि त्यति ठूलो अवसर बन्न सकेन । सुदूरपश्चिम प्रदेशबाट उदाएर क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी घोषित भएर देशको नाम विश्वमा फैलाउने उपलब्धी नै प्रदेशको एउटा गौरवको विषय बन्यो । तर, प्रदेशले २०८० मा थुप्रै कुरा गुमायो ।

बहालवाला प्रदेश सरकारका मन्त्री दम्पती र परिवारका सदस्यहरूको सडक दुर्घटनामा ज्यान भयो । बाढी पहिरो र भूकम्पले पनि ठूलो क्षति पुर्यायो ।

राजनैतिक रुपमा पनि प्रदेशमा उतार चढावको वर्ष भयो २०८० । प्रदेश सरकारमा मुख्यमन्त्री कमल बहादुर शाहले वर्ष सकिन एक साता बाँकी रहँदा राजीनामा दिएर भने नाउपाका संरक्षक रेशम चौधरीको विवाद चर्चा र बहस वर्षको सुरुबाटै सुरु भयो ।

यो वर्ष प्रदेशमा रेशमलाई सर्वोच्च अदालतले दोष ठहर हुने दिने आम माफी पाउने त्यसपछि केन्द्रीय अध्यक्षमा निर्वाचित हुने तर, निर्वाचन आयोगले त्यसलाई वैधानिकता नदिने विषय चर्चामा रह्यो ।
रेशम रन्जिता विवाद र त्यसले प्रदेश सरकारमा पारेको प्रभाव पनि चर्चामै रह्यो । घटना र दुर्घटनाका समाचारले पनि प्रत्येक दिन जसो सञ्चार माध्यमहरूमा स्थान पाइरहे ।

तीमध्ये यी हुन् प्रदेशका मुख्य ८ विषय

१) रेशमलाई सजाय, आममाफी, अध्यक्ष बदर र प्रदेश सरकार

२०८० को सुरुबाटै अन्तिम सम्म रेशम चौधरी चर्चामा रहे । जेठ २ गते सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गर्यो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटेका थिए । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए ।

आममाफी पाएर रिहा भएका चौधरी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन भएपनि उनलाई निर्वाचन आयोगले वैधानिकता दिए । अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै आयोगले वैधानिकता संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबिचको खटपट पनि हरेक दिन जस्तो समाचारको विषय बने ।

नाउपाको आन्तरिक कलहको असर सुदूरपश्चिम सरकारमा पनि परेको छ । रेशम पुरानै गठबन्धनमा सहभागी हुनुपर्ने अडानमा छन् भने रञ्जिता नयाँ गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन् । यद्यपि अहिले मुख्यमन्त्री लिएर सरकारको नेतृत्व लिने मुड नाउपा नेतृत्वले बनाएको छ ।

२) मुख्यमन्त्रीको राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चैत २२ गते राजीनामा दिए । फागुन २३ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले कमल शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

चैत २२ गते भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहले प्रयत्न गरेका थिए ।

तर, नागरिक उन्मुक्ति पार्टीका दुई सांसद र स्वतन्त्र एक सांसदले त्यो दिन सदनमा नआउने जनाएपछि शाहले राजीनामाको बाटो रोजेका हुन् । मुख्यमन्त्री शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते सम्म सरकार बनाउने समय दिएका छन् ।

३) बझाङ भूकम्प

असोज १६ गते बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पका कारण ठूलो भौतिक क्षति हुन पुग्यो भने २१ जना घाइते भएका थिए । र सोही क्रममा १ जनाको मृत्युसमेत भएको थियो । भूकम्पपछि केही दिनसम्म त्यसको पराकम्प पनि गइरहेका छन् ।

जयपृथ्वी नगरपालिकामा ६, बुंगल नगरपालिकामा २ तलकोटमा १, मस्टा ४ छविसपाथिभेरामा ४, खप्तडछात्रा १, केदारस्युँ १ र वित्थडचिर गाउँपालिकामा २ गरि कुल २१ जना घाइते भएको जिल्ला जिल्ला विपत् व्यवस्थापन समितिले निकालेको विवरणमा उल्लेख छ ।

भूकम्पका कारण जिल्लाका १२ स्थानीय तहमध्ये सुर्मा गाउँपालिका बाहेकका स्थानीय तहमा गरि २ हजार ४४५ घर पूर्ण रुपमा क्षति भएका थिए

४) कानून मन्त्रीसहित तीन जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री पृथ्वीबहादुर सिंह सहित तीन जनाको दुर्घटनामा निधन भयो ।

धनगढीबाट बझाङ जाने क्रममा असार ५ गते गाडी दुर्घटनामा परी कानूनमन्त्री सिंह, उनकी पत्नी वर्षीया अमृता सिंह र भाउजू वर्षीया जयादेवी सिंहको मृत्यु भएको हो । कांग्रेसबाट निर्वाचित सिंहको मृत्यु भएपछि वैशाख १५ गते उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

५) बढ्दो सवारी दुर्घटना

सुदूरपश्चिम प्रदेशमा २०८० सालमा पनि सवारी दुर्घटना भइरहे । प्रदेशमा २०७९/८० मा १७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका हुन् । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी ६७४ जनाको मृत्यु भएको छ । यो वर्षमा ठुला तथा साना दर्जनौँ दुर्घटना भइरहे । जस्तो चैत १२ गते अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको भयो भने पाँच जना घाइते भए ।

त्यसअघि कात्तिक ३० गते अछामको कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको ट्याम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । अछामको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पनि एक जनाले ज्यान गुमाएका थिए ।

पुस १ गते मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

१९ असोजमा डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भए ।

६) आपराधिक घटनाले रेकर्ड राखेको वर्ष

सुदूरपश्चिममा यो पटक धेरै अप्रिय घटनाहरू घटेका छन् । केही हप्ता अघि मात्रै बैतडीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरे । उनले २ जना गाउँपालिकाका कर्मचारीलाई घाइते पनि बनाए । घटनको कारण खुल्न सकेको छैन् । यद्यपि यो अप्रिय घटनाले वर्षान्तमा सुदूरपश्चिमलाई रुवाएको छ । यो मात्रै होइन यस्तै यस्तै दर्जनौँ आपराधिक घटना घटे ।

वैशाख १६ गते कैलाली धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका थिए । जेठ २८ गते कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका थिए ।

कात्तिक १९ मा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरि उनको गहना लुटिएको थियो । असोज ३१ गते कञ्चनपुरको पुनर्वास नगरपालिका ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीर धामीको हत्या गरेका थिए ।

कैलालीको टीकापुर आसपासमा मात्रै यो वर्ष दुई जनाको हत्या गरिएको छ ।

७) विपीन जोशी बेपत्ता

भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विपिन जोशी अहिले सम्म सम्पर्कविहीन छन् ।

असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भयो । त्यही दिन बेपत्ता भएका जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् । २० गते घटना हुनुभन्दा केही बेर अघिसम्म विपिन परिवारकै सदस्यहरूसँग भिडिओ कलमा बोलिरहेका थिए । तर, त्यसपछि उनलाई हमासले अपहरण गरेको बताइएको छ । उनीअझै सम्पर्कमा छैनन् ।

८) कञ्चनपुरका ऐरीको विश्व कीर्तिमान

कञ्चनपुरको भीमदत्त नगरपालिकाका क्रिकेटर दीपेन्द्र सिंह ऐरीले यो वर्ष देशकै लागि विश्व कीर्तिमान बनाएर जुन उपलब्धिले २०८० भरी चर्चा पायो ।

ऐरीले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् । सयन गेम्समा मंगोलियाविरूद्ध उनले ९ बलमै अर्ध शतक पूरा गरेका हुन् । भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका छन् ।

१० बल सामना गरेका उनले ८ छक्काको मद्दतमा ५२ रन बनाएका थिए ।

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *