पार्टीका प्रतिस्पर्धीलाई आडमा राखेर चतुरे बजारमा डम्बरको चतुर भाषण (भिडिओ) – Nepal Press
इलाम २ मा उम्मेदवारको घरदैलो-२

पार्टीका प्रतिस्पर्धीलाई आडमा राखेर चतुरे बजारमा डम्बरको चतुर भाषण (भिडिओ)

पहिचानको नारा लगाएर भोट माग्दै कांग्रेस उम्मेदवार डम्मर

इलाम । इलामको माङ्सेबुङ्गस्थित लारुम्बा भञ्ज्याङ चारतारे झण्डा बाँधेको स्करपियो गाडी धुलो उडाउँदै उकालो लाग्यो । झ्यालमा झुलुक्क देखिए डम्बर खड्का ।

स्करपियो पछिपछि मिनी बस पनि माथि उक्लियो । मिनिबसको पछाडि थिए १०–१५ वटा मोटरसाइकल । एकैचोटी धेरै सवारी साधनहरु धुलो उडाउँदै कुदेपछि वातावरण कुहिरीमण्डल भयो ।

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट झिनो मत अन्तरमा पराजित भएका खड्का इलाम उपनिर्वाचनमा पनि उम्मेदवार छन् । उनको चुनावी कार्यक्रम र घरदैलो कार्यक्रमका बारेमा रिर्पोटिङ गर्न २७ चैत बुधबार बिहानैबाट मोबाइलमा सम्पर्क गर्दा उनको फोन उठेको थिएन । तैपनि हामीले पछ्यायौं ।

दौरा सुरुवाल, ढाका टोपी र फूलको मालामा झ्यालबाट देखेपछि उनलाई चिन्न गाह्रोे भएन । स्थानीयले काँग्रेसको सभा माङ्सेबुङ्गको चतुरे बजारमा रहेको जानकारी दिए ।

कति माथि जानु पर्छ ? बाटोमा भेटिएकी शुकमाया साँवाले उत्तर दिइन्, ‘आधा घण्टामा पुगिहालिन्छ ।’

शुकमायाले भनेको आधा घण्टा सम्झँदै लारुम्बा भञ्ज्याङबाट उकालो लाग्दा खड्काको गाडी कतै देखिएन । ०४७ सालदेखि खन्न थालिएको इलामको पश्चिमी क्षेत्रको लाइफ लाइनको रूपमा रहेको माङ्सेवुङको सडकमा आधा फिटसम्म धुलो थियो । धुलोले पुरिएका ठूला–ठुूला ढुङ्गा । ठाडो उकालोमा कतै लड्दै त कतै गाडी ठेल्दै चतुरे पुग्दा एक घण्टाभन्दा बढी लाग्यो ।

बाटोको सेतो धुलोले मान्छेको रूप रङ्ग नै नचिनिने अवस्था थियो । चतुरे बजारको ओरालोमा खड्काले नै भाषण गरिरहेका थिए । लहरै राखेको कुर्सीमा खड्काको एकातिर कांग्रेस इलामका उपसभापति ज्योति राई थिए भने अर्को तिर भेषराज आचार्य ।

भेषराज आचार्य शेखर कोइराला समर्थित नेता हुन् जो ७९ को निर्वाचनमा र उपनिर्वाचनमा पनि कांग्रेसको तर्फबाट उम्मेदवार बन्न चाहन्थे । उनलाई उम्मेदवार बनाउन क्षेत्रीय र जिल्ला समितिका ८० प्रतिशतभन्दा बढीको सिफारिस थियो । तर उनले टिकट पाएनन् । सभापति शेरबहादुर देउवालाई रिझाएर खड्काले नै फेरि बाजी मारे ।

उम्मेदवारका आकांक्षी आचार्यलाई देखाउँदै बाठा खड्काले भने, ‘मलाई भेषराजजी नलिइकन गाउँमा नआइज भन्नु भएको थियो । अहिले हामी मिलेर आएका छौं । उम्मेदवार हुन प्रतिस्पर्धा स्वाभाविक हो । अब पार्टीले उम्मेदवार बनाइसकेको छ । अब पार्टीलाई जिताउन उहाँ पनि लाग्नु भएको छ ।’

उनले जिल्लाका उपसभापतिको पनि भाषणमै प्रशंसा गरे, ‘ज्योति दाइ भन्नुहुन्छ, म बुढो भइसकेँ, अब तपाईंहरुको पालो हो । अगाडि बढ ।’

चतुरे बजारमा भएको कोणसभामा चतुर भाषण गर्दै खड्काले पहिचानको मुद्दा स्थापित गर्न कांग्रेस लागेको बताए । उनले आफू र आफ्नो पहलमा प्रदेशको नामकरणपछि कांग्रेसका १४ जिल्लाका पार्टी सभापतिहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेको स्मरण गरे ।

प्रदेशको नामकरणपछि विरोधमा हिंसात्मक आन्दोलन हुन थालेपछि कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले नामका विषयमा पुनरावलोकन गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । खड्काले आफ्नो पहलमा पार्टीका प्रदेश सभापति उद्धव थापाले जिल्ला सभापतिहरूलाई विज्ञप्ति निकाल्न लगाएको दाबी ।

खड्काले भने, ‘कांग्रेस पहिचानवादीहरूको पार्टी हो । यहाँ अल्मलिनु पर्ने कुरा नै छैन ।’

चतुरे बजारमा भएको कोणसभापछि खड्काले मांसेबुङको १ नम्बरको कार्यक्रम पनि हेर्न आग्रह गरे । उनले कांग्रेसले अहिले घरदैलो भन्दा पनि चोक–चोकमा कार्यक्रमहरू गरिरहेको बताए ।

‘हामीले आजै मात्र ५ ठाउँमा कार्यक्रम गरेका छौं । अझै दुई ठाउँमा गर्ने तयारी छ’, खड्काले नेपाल प्रेसलाई सुनाए ।

चतुरे बजारको कार्यक्रम सकेपछि इभाङतर्फ मोटरसाइकलको र्‍याली लगाउँदै खड्का हुइँकिए । चतुरेबाट इभाङसम्म बाटो कालोपत्रे भएको छ । कालोपत्रे बाटोमा खड्कालाई पछ्याउँदा उनी बाटोमा भेटिएकाहरूलाई गाडीबाटै नमस्कार गर्न भ्याउँथे ।

चुनावी कार्यक्रममा पुगेका खड्कासमक्ष स्थानीय युवराज आचार्यले बाटोको समस्या सुनाए ।

‘हामीले थाहा पाउँदादेखि बाटो पिच हुन्छ हल्ला सुनेको अहिले सम्म भएन । कतिन्जेल यो समस्या भोग्नु पर्ने हो’, उनले भने ।

जवाफमा खड्काले पहल गर्ने आश्वासन दिए । स्थानीयले गाउँमा फलेका तरकारी र दूधले बजार नपाएको गुनासो गरे ।

चुनावी सभामा बोल्ने अधिकांश स्थानीय नेताहरूले खड्काले कोरोनाकालमा गरेको कामका बारेमा व्याख्या गरे ।

‘उहाँले कोरोनाकालमा धेरैको उद्धार गर्नुभएको छ । अलपत्र परेकाहरूको मात्रै नभएर उपचारमा समेत सहयोग गर्नु भएको छ’, स्थानीय कृष्ण बुढाथोकीले भने ।

खड्काले मन्दिर, विद्यालय भवन बनाउनदेखि खेलकुदको क्षेत्रमा गरेका आर्थिक सहयोगका बारेमा चुनावी सभामा बोल्ने कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

चतुरेपछि भएको कार्यक्रममा महासमिति सदस्य रहेको भेषराज आचार्यले काँग्रेसलाई जिताउन आफू पनि आएको बताउने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर