नयाँ वर्षदेखि कम्पनी रजिष्ट्रार कार्यालयका सबै हाजिरी फाइलहरु फालिँदै – Nepal Press

नयाँ वर्षदेखि कम्पनी रजिष्ट्रार कार्यालयका सबै हाजिरी फाइलहरु फालिँदै

काठमाडौं । नयाँ वर्षदेखि कम्पनी रजिष्ट्रारको कार्यालयका सबै हाजिरी लगाइने फाइलहरु फालिने भएका छन् । त्रिपुरेश्वरको कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान भएपछि सबै हाजिरी फाइलहरु फालिने भएका हुन् ।

नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि रजिष्ट्रारको कार्यालयका सबै कर्मचारीहरुले डिजिटल हाजिरी लगाउने भएका हुन् । कार्यालयमा ‘जेआइएमएस’ हाजिरी प्रणालीले ईन्फोटेकद्वारा लगाइएको हो ।

रजिष्ट्रारको कार्यालयका कर्मचारीहरुले पूर्णरुपमा डिजिटल हाजिरी नयाँ वर्षदेखि लगाउने कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार घनश्याम न्यौपानेले बताए ।

न्यौपानेले भने, ‘डिजिटल हाजिरीको काम सम्पन्न भएको छ । अब नयाँ वर्षदेखि डिजिटल हाजिरी पनि लागू भइसकेको छ । कुन कर्मचारी कतिबेला आउँछ त्यो पनि हेर्न सकिनेछ । ढिलोचाँडो भएपछि डिजिटलमा जानैपर्छ त्यसैको एउटा नमुना यो डिजिटल हाजिरी हो ।’

अब कर्मचारीहरूले वायोमेट्रिकमार्फत औंठा छापबाट डिजिटल हाजिरी लगाउनेछन् । तीन वर्ष अघिदेखि सरकारी कार्यालयहरूमा डिजिटल हाजिरीको सेवा दिँदै आएको ‘विओआइटी’ ले बैसाख १ गतेदेखि रजिस्ट्रारको कार्यालयमा पनि लागू गर्ने भएको हो । तर पहिलो हाजिरी वैसाख २ गतेदेखि लाग्ने भएको छ । किनभने १ गते शनिबार परेकोले आईतवारदेखि सबै कर्मचारीहरूले डिजिटल हाजिरी लगाउनेछन् ।

डिजिटल हाजिरीको लागि लामो समयदेखि रजिष्ट्रारको कार्यालयमा कुरा उठ्दै आएपनि लागू हुन सकेको थिएन् । गत असोजदेखि डिजिटल हाजिरी जडानका लागी काम गर्न सुरू गरिएको थियो । करिब छ महिनापछि कार्यालयमा डिजिटल हाजिरी जडानको काम पूर्णरुपमा सफल भएको हो ।

पूर्णरुपमा डिजिटल हाजिरीको सबै कामहरू भएर दुईवटा हाजिरी डिभाइस जडान गरिएको छ । अब हाजिरीको विवरण सिधै मन्त्रालयबाट पनि हर्न सकिनेछ । विओआईटीमा सबै डाटाहरू ब्याकअप भएर बस्छन् । ढिलोचाँडो आउने कर्मचारीको सेमेत डिजिटल रूपमा हेर्न मिल्नेछ । यसले गर्दा कर्मचारीहरूको ढिलोचाँडो आउने अनियमितालाई नियमन गर्न मिल्नेछ ।

रजिष्ट्रारको कार्यालयमा सरूवा, काज र करार गरेर जम्मा ७१ जना कर्मचारी रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *